• १४ मंसिर २०८१, शुक्रबार

विभिन्न जातका बिउ सूचीकृत

blog

काठमाडौँ, वैशाख २१ गते ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न बालीका रैथाने तथा वर्णशङ्कर जातका बिउ सूचीकृत गरेको छ । 

कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माका अनुसार खाद्यान्न, दलहन बाली, फलफूल बाली र तरकारी बालीका विभिन्न आठवटा रैथाने तथा वर्णशङ्कर जातका बिउ मन्त्रालयले सूचीकृत गरेको छ । 

कृषि मन्त्रालयको बिउबिजन ऐन, २०४५ को दफा ११ को उपदफा ११.२ ले दिएको अधिकार प्रयोग गरी मन्त्रीस्तरीय निर्णयबाट धानअन्तर्गत कनक जिरा, डल्ले मसिनो, घिउपुरी, तिल्की जातको बिउ सूचीकृत गरिएको छ । यी सबै धान ५० वर्षभन्दा बढी पुराना जातका हुन् । 

बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईंका अनुसार तिल्की जातको धान दाङ जिल्ला वरपरका किसानले उत्पादन गरिरहेका छन् भने कनक जिरा नवलपरासी, डल्ले मसिनो गण्डकी क्षेत्र र घिउपुरी जातको धान बर्दियालगायत त्यस वरपर उत्पादन हुने गरेका छन् । यी नेपालका मौलिक जातहरू सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा यसको उपयोगिता बढी देखिएको छ । खानका लागि मिठो हुन्छ । 

त्यस्तै दलहन बालीअन्तर्गत भटमासमा नेपाले भटमासको रैथाने जात सूचीकृत गरिएको छ । यो जातको भटमास सङ्खुवासभा जिल्लामा उत्पादन हुने गरेको छ । यसलाई त्यहीँका किसानले गठन गरेका सहकारीमार्फत दर्ता गरिएको छ । 

सुन्तलामा मध्यपहाडी क्षेत्रका लागि बाँसखर्क स्थानीय रैथाने जातको बिउलाई सूचीकृत गरिएको छ । यो जातको सुन्तला म्याग्दी जिल्लाका किसानले उत्पादन गर्दै आइरहेका छन् । यो रैथाने जातको सुन्तला राष्ट्रिय सुन्तला बाली अनुसन्धान केन्द्रले दर्ता गराएपछि मन्त्रालयले सूचीकृत गरेको हा । उन्नत जातका बिउहरू आएपछि यी जात ओझेलमा परेका कारण यसको संरक्षणका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ । अहिले उत्पादकत्व र उत्पादन वृद्धिका लागि विभिन्न उन्नत जातका बिउ आउन थालेका छन् । त्यसको बीचमा रैथाने जात लोप हुने अवस्थामा पुगेका कारण यसको संरक्षणका लागि सूचीकृत गरिएको छ ।   

तरकारी बालीअन्तर्गत रामतोरियामा बङ्गलादेशमा विकास भएको रामतोरियाको वर्णशङ्कर जात ग्रिन फिङ्गर (एफ वन) र भान्टाअन्तर्गत बङ्गलादेशमा विकास भएको भान्टाको वर्णशङ्कर जात लबोनी (एफ वन)लाई सूचीकृत गरिएको सचिव शर्माले जानकारी गराउनुभयो । सीजी सिड कम्पनीले बङ्गला देशका यी दुई जातका बिउ नेपालमा दर्ता गराएका छन् । सरकारले पनि आधिकारिक रूपमा सूचीकृत गरेको छ ।