• १४ असार २०८२, शनिबार

सन्दर्भ : बाइसौँ राष्ट्रिय धान दिवस

एघार महिनामा उनन्चालिस अर्बको धानचामल आयात

blog

काठमाडौँ, असार १४ गते । सरकारले मुलुकमा धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न प्रयत्न गर्दै आएको छ । यही अभिप्रायले दुई दशकदेखि प्रत्येक १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ । धानको उत्पादनमा वृद्धि एवं आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि सो दिवस मनाइँदै आए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा धानचामल आयात हुने गरेको छ । 

यस वर्ष पनि ‘धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासाथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागको आयोजनामा आइतबार सो दिवस मनाउन लागिएको हो । 

धान उत्पादन बढाउने पहल धेरै भए पनि कृषिप्रधान देशको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो । 

यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो । 

यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ । 

विभागका महानिर्देशक प्रकाश सन्जेलले नेपालमा कम उत्पादन हुने मसिना तथा बास्नादार चामलको प्रयोगले गर्दा आयात बढी भएको जानकारी दिनुभयो । भारत सरकारले निर्यातमा कर घटाएका कारणले पनि धानचामलको आयात बढी भएको उहाँले जानकारी दिनुभयो । धानको उत्पादन बढाउन बर्खे धानको उत्पादनसँगै उत्पादकत्व र चैते धानको क्षेत्रफल विस्तार गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

धानको उत्पादन बढाउन चैते धान खेती दुई लाख हेक्टर क्षेत्रफलमा विस्तार गर्न सकिने उहाँले जानकारी दिनुभयो । हाल एक लाख १० हजार हेक्टर क्षेत्रफलमा छदेखि सात लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । आगामी आवको बजेटमार्फत दुई वर्षभित्रमा चैते धानको उत्पादन बढाएर आत्मनिर्भर बन्ने कार्यक्रम घोषणा गरिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको छ । 

बिउसमेत आयातमै भर

धानचामलको आयात बढिरहेका बेला धानको बिउका लागि समेत परनिर्भर बन्नु परेको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु आवको ११ महिनामा एक अर्ब २० करोड रुपियाँ बराबरको तीन हजार मेट्रिक टन धानको बिउ आयात भएको छ । 

केन्द्रका अनुसार मुलुकमा वार्षिक एक सिजनका लागि २० हजार मेट्रिक टन धानको बिउ आवश्यक पर्नेमा दुई हजार पाँच सयदेखि तीन हजार मेट्रिक टन बिउ आयात हुने गरेको छ । केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले आयात हुने ९० प्रतिशत बिउ हाइब्रिड रहेको जानकारी दिनुभयो ।  वार्षिक बिउ प्रतिस्थापन दर २८ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट विभिन्न १४८ धानको जात उन्मोचन भई केन्द्रमा दर्ता भएका छन् जसमा ४० वटा जात प्रयोगमा नआई खारेज गरिएको केन्द्रले जनाएको छ । 

यसैबिच नार्कले नयाँ धानको जात खुमल–१८ अनुसन्धान गरी उन्मोचन गरेको छ । मध्यपहाडको हावापानीमा उपयुक्त हुने सो जात विकास गरी सिफारिस गरिएको हो । प्रतिहेक्टर क्षेत्रफलमा ५.२ टन उत्पादन हुने बताइएको छ ।