• १४ असार २०८२, शनिबार

अस्पताल र चिकित्सकबाट एक करोड पैँतालिस लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १४ गते । उपभोक्ता अदालतले उपचारमा लापर्बाहीका कारण बालिकाको मृत्यु भएको घटनामा काठमाडौँको हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न चिकित्सकलाई एक करोड ४५ लाख ४४ हजार एक सय रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । गङ्गा गौतमले उपचारमा भएको लापर्बाहीका कारण छोरी प्रशंसाको मृत्यु भएको भन्दै काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा २०८२ जेठ २६ गते उपभोक्ता अदालतमा सारिएको थियो । त्यसैमा फैसला गरी सो बराबरको क्षतिपूर्ति दिलाउन आदेश भएको हो । अदालतका स्रेस्तेदार शोभाकर खरेलका अनुसार उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्रराज रेग्मी तथा आनन्दराज पोखरेलको इजलासले बिहीबार सो फैसला गरेको हो । 

नेपाल मेडिकल काउन्सिलले चेतावनी मात्रै दिने निर्णय गरेपछि क्षतिपूर्तिको मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर गरिएको थियो । 

उपचारमा लापर्बाही भएको भन्दै दुई करोड ९५ लाख क्षतिपूर्ति पाउँ भनी दायर गरेको मुद्दामा एक करोड ४५ लाख ४४ हजार एक सय रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको हो । जसमा हिमाल हस्पिटल प्रालिबाट ७० प्रतिशत (एक करोड एक लाख ८० हजार ८७० रुपियाँ) र उपचारमा संग्लन चिकित्सक डा. जयदेव यादवबाट ३० प्रतिशत (४३ लाख ६३ हजार २३० रुपियाँ) भराउने आदेश भएको छ । 

यसअघि उपभोक्ता अदालतले प्लास्टिक सर्जरीका क्रममा लापर्बाही भएको भन्दै काठमाडौँको ग्रान्डी सिटी अस्पताल र प्लास्टिक सर्जन चिकित्सक सञ्जीव त्रिपाठीविरुद्ध परेको उजुरीमा ५७ लाख १९ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।