• २० जेठ २०८१, आइतबार

गोरखापत्रको डिजिटल अर्काइभिङ ऐतिहासिक काम : सचिव राउत

blog

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई गोरखापत्र संस्थानको गतिविधिबारे जानकारी गराउनुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गोरखापत्र संस्थानले गरिरहेको डिजिटल अर्काइभिङको कामले भावी पुस्तासम्मलाई हुने गरी ऐतिहासिक काम भइरहेको बताउनु भएको छ । 

मन्त्रालयको सचिव हुनुभएपछि गोरखापत्र संस्थानको पहिलो पटक आज बुधबार आकस्मिक अवलोकन तथा निरीक्षणमा आउनुभएका सचिव राउतले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “यो सराहनीय काम हो । गोरखापत्रको इतिहास र नेपाली भाषाको विकास उन्नयनका लागि यो अर्काइभिङले महत्वपूर्ण भूमिका खेल्नेछ ।”  

उहाँले गोरखापत्र पत्रकारिताको पाठशाला हाे र नेपाली भाषाकाे विकासमा यसले महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्नुभयो । “भाषा विकासको मानकको रुपमा गोरखापत्रले काम गरिरहेको छ, नेपाली, अंग्रेजी सँगसँगै अहिले बहुभाषिक पृष्ठले भाषाको उन्नयनमा योगदान गरिरहेको छ, यसलाई महत्वपूर्ण मान्नुपर्छ” उहाँले भन्नुभयो । 


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत ।

उहाँले गोरखापत्र सबैलाई बाटो देखाउने मानकको रुपमा विकास भएकाले यहाँ कार्यरत जनशक्तिलाई गल्ती गर्ने छुट नरहेको  बताउनुभयो । सचिव राउतले भन्नुभयो, “गोरखापत्र पढेपछि अशुद्ध हुँदैन भन्ने अरुलाई विश्वास छ, त्यही भएर गोरखापत्रमा काम गर्ने जनशक्तिले त्यसमा चनाखो हुनुपर्छ । पुरानो र इतिहास बोकेको संस्था भएकाले यसले विरासत बोक्नुपर्छ ।” 


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी संस्थान गतिविधिबारे जानकारी गराउनु हुँदै । 

बजारमा प्रतिस्पर्धा बढेकाले गोरखापत्र संस्थानका जनशक्तिलाई समयानुकूल दक्ष बनाउनमा ध्यान दिनुपर्छ भन्नुुहुँदै सचिव राउतले भन्नुभयो, “बजारमा अहिले धेरै प्रतिस्पर्धा छ, त्यसमा संस्थान नेतृत्व र यहाँ कार्यरत जनशक्तिले ख्याल राख्नैपर्छ । अरुसँग प्रतिस्पर्धा गर्न जनशक्ति नै दक्ष बन्नुपर्छ ।” 

उहाँले गोरखापत्रको विरासतलाई यसैगरी कायम गर्न स्पष्ट भावी योजना बनाएर काम गर्न  निर्देशन पनि दिनुभयो । 


सचिव राउतले गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन सरकारको तर्फबाट हुने सहयोग प्राप्त हुने विश्वास दिलाउनुभयो । गोरखापत्रको भौतिक संरचना र जनशक्तिलाई समयानुसार विकास गर्नुपर्ने खाँचो रहेको उहाँको भनाइ छ । 

यति लामाे इतिहास बोकेको गोरखापत्र संस्थानसँग सहकार्य गरेर काम गर्न पाउनु नै अहोभाग्य रहेको चर्चा गर्नुहुँदै सचिव राउतले सबैको हातेमालो र सहयोगले गोरखापत्र संस्थान बलियो र प्रतिस्पर्धी बन्ने चर्चा गर्नुभयाे । सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सचिव राउतसँग काम गर्न पाउँदा हौसला र मार्गदर्शन प्राप्त भएको बताउनुभयो । अध्यक्ष सुवेदीले गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश भएको अवसरमा वैशाख २४ गते हुने विशेष समारोहलाई सम्पन्न गर्न सचिव राउतको निरीक्षणले थप उर्जा प्राप्त भएको बताउनुभयो । 

अध्यक्ष सुवेदीले संस्थानको भवन पुरानो भएकाले नयाँ भवनका लागि आवश्यक सहयोग गर्न, संस्थानमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि कर्मचारी विनियमावली तथा संशोधित बजेटलाई चाँडै टुङ्ग्याएर सहयोग गर्न सचिव राउतसँग आग्रह गर्नुभयो । 

गोरखापत्र डिजिटलाइज्ड हुँदै

निरीक्षणका क्रममा सचिव राउतले गोरखापत्र संस्थानले सुरु गरेको डिजिटलाइज्ड अर्काइभिङ स्टुडियोको पनि अवलोकन गर्नुभयो । १२३ वर्षदेखिको पुरानो पत्रिका र दस्तावेजलाई डिजिटलाइज्ड बनाइने महत्वपूर्ण काम भएको भन्दै उहाँले त्यसको सफलताको शुभकामना पनि दिनुभयो । 

सो अवसरमा अर्काइभिङमा कार्यरत सूचना प्रविधि परामर्शदाता अजयमणि पौडेल र रविराज बरालले सचिव राउतलाई जानकारी गराउनुभयो । अर्काइभिङको काम शुरुवाती चरणमा रहेकाले अबको एक वर्षमा धेरै काम गरिसक्ने उहाँहरुले बताउनुभयो । अहिलेसम्म २०१७ सालसम्मको फोटो डिजिटलाइज्डको काम सम्पन्न गरेको परामर्शदाता पौडेलले जानकारी गराउनुभयो । 


संस्थानका प्राविधिक कर्मचारीहरू अर्काइभिङको कार्य गर्दै ।

अर्काइभिङको काम नियमित चल्ने प्रक्रिया भएको बताउँदै पौडेलले अहिलेसम्म सूचीकरणको काम करिब सकिएको बताउनुभयो । अर्काइभिङका लागि त्रिभुवन विश्वविद्यालयको पुस्तकालय, राष्ट्रिय अभिलेखालय कार्यालय, प्रेस काउन्सिल नेपाल, मदन पुरस्कार पुस्तकालय, मार्टिन चौतारी लगायतका संस्थासँग समन्वयको काम भएको उहाँले जानकारी दिनुभयो । 

सचिव राउत निरीक्षणका क्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका सम्पादक भिमसेन थपलिया, मधुपर्कका सम्पादक जयदेव भट्टराई, सञ्चालक समितिका सदस्य राजुकुमार महत, गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम, अर्थ विभाग प्रमुख यमलाल कँडेल, निमित्त प्रशासन प्रमुख ओमप्रकाश भुषाल, सूचना प्रविधि विभागका प्रमुख रेखादेवी श्रेष्ठसहित विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।