काठमाडौं, वैशाख २० गते । नेपालका बक्सर भूपेन्द्र थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा जर्मनीका गोक्दुमान देवरामसँग पराजित हुनुभएको छ ।
उज्वेकिस्तानको तास्कान सहरमा जारी च्याम्पियनसिपमा भूपेन्द्र थापा ६०–६३.५० केजी तौल समूहमा गोक्दुमानसँग ४–१ स्प्लिट अङ्कको आधारमा पराजित हुनुभएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
भूपेन्द्र राउण्ड ६४ अन्तर्गत सेसन २ ‘ए’ को पाँचौँ नम्बर बाउटमा ४६ जनाले प्रतिस्पर्धा गरेका थिए । भूपेन्द्र १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी हुनुहुन्छ ।
अब नेपालका रविन थापाले ४८ केजी तौल समूहमा उज्वेकिस्तानका खेलाडीसँग बिहीबार प्रतिस्पर्धा गर्नुहुनेछ ।