• २३ असार २०८२, सोमबार

मध्यविन्दुमा जग्गा नापजाँच सुरु

blog

मध्यविन्दु नगरपालिकाका नगरप्रमुख सहित नापिका कर्मचारी जग्गा नापँजाच गर्दै ।

मीना कंडेल

कावासोती, वैशाख १८ गते । नवलपुरको मध्यविन्दु नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँच सुरु गरेको छ । लामो समयदेखि राजनीतिक मुद्दाको रूपमा मात्रै सीमित भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको प्रक्रियालाई समाधान गर्न मध्यविन्दु नगरपालिका वडा नं. १ को सेतापानीबाट जग्गा नापजाँच सुरु गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । 

वडा नं. १ बाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडाहरुमासमेत सुरु हुने उहाँले बताउनुभयो । निर्वाचन पूर्व र पटकपटक स्थानीय समुदायसँग गरेको वाचा पुरा गर्ने चरणमा आफूहरू रहेको भन्दै उहाँले जग्गा नापजाँच कार्यमा आवश्यक सहजीकरण गर्न स्थानीयहरूलाई अनुरोध गर्नुभयो । 

लामो समयदेखि सपनाको रूपमा रहेको जग्गा नापजाँचको काम सुरु भएकोमा स्थानीय खुसी छन् । उल्लेखनीय रूपमा सहभागी भएका स्थानीयहरूले स्थानीय स्तरमा देखिने समस्याहरूको समाधान गरेर जतिसक्दो चाँडो नापजाँचको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा भोग्नुपर्ने पीडा र समस्याहरू जग्गाधनी पुर्जा प्राप्त भएपछि हट्ने भन्दै वडा नं. १ का वडा अध्यक्ष तिलकराम न्यौपानेले जग्गानापजाँचको क्रममा स्थानीय स्तरमा हुने विवाद, देखिने समस्या समाधान वडा स्तरमा रहेको सहजीकरण समिति, नगर स्तरको सहजीकरण समितिबाट हुने बताउनुभयो । 

जिल्ला भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले जग्गा नापजाँच र त्यसको प्रमाणीकरणपछि हुने विभिन्न चरणहरू पार गरेर स्थानीय समुदायले जग्गाधनी पुर्जा प्राप्त गर्ने भन्दै उहाँले यसमा आवश्यक सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । यस्तै, आयोग जिल्ला सदस्य सुस्मा खनालले जग्गा नापजाँच कै क्रममा स्थानीय समुदायमा उल्लास र खुसीहरू देखिएको भन्दै वास्तविक खुसी र सफलता जग्गाधनी पुर्जा सम्बन्धित व्यक्तिलाई प्रदान गर्दाको दिन हुने बताउनुभयो । 

जिल्ला भरका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा नापँजाच गरी जग्गाधनी पुर्जा सम्बन्धित व्यक्तिलाई प्रदान गर्नुपर्ने नगर स्तरीय सहजीकरण समितिका सदस्य दोमन भण्डारीले बताउनुभयो । भूमिहीनहरूको हकमा कुनै पनि शुल्क बिना र अव्यवस्थितहरूको हकमा राज्यले तोकेको राजश्व जग्गाधनी पुर्जा प्राप्त गर्ने समयमा मात्रै बुझाउनुपर्ने भन्दै अन्य कुनै पनि शुल्कहरू सङ्कलन यो बीचमा नहुने बताउनुभयो ।

मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहीन दलित, एक हजार एक सय ३२ भूमिहीन सुकुम्वासी र ६ हजार दुई सय ७२ अव्यवस्थित बसोवासीहरु रहेको तथ्याङ्क सङ्कलन गरी भूमि आयोगमा प्रविष्टि भएको भूमि इकाई मध्यविन्दुका विष्णु गौतमले बताउनुभयो ।