• १६ चैत २०८०, शुक्रबार

जलवायु अनुकुलन तरकारीखेतीतर्फ किसान आकर्षित

blog

जलवायु अनुकुलन तरकारी खेती गर्न सिक्दै समुहगत रुपमा खेतबारीमा किसान । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), बैशाख १६ गते । जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । चार महिनासम्म जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सञ्चालनगरी यहाँका महिलालाई जलबायु परिवर्तनले हुने विभिन्न परिस्थितिमा कसरी तरकारी खेती उत्पादन गर्न सकिन्छ भन्नेबारे सिकाइएको छ ।

दिगो विकास समाज भजनी कैलाली र वल्र्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा घोडाघोडी र भजनी नगरपालिका भित्रका ६५ जना कृषकलाई सहभागी गराइएको छ । 

घोडाघोडीको वडा १ कौवा, वडा ५ को देउकलिया र भजनीको  वडा ४ बिजुलीयाका कृषकलाई परियोजनाले कृषक पाठशाला कार्यक्रममार्फत सहयोग गरेको छ । गत पुषदेखि सुरु भएको पाठशाला कार्यक्रममा हिउँदमा चिसोले असर गर्ने वाली, गर्मीले असर गर्ने वाली, परम्परागत तरिका र आधुनिक तरिकाबाट खेतीगर्ने तरिका अभ्यासका साथ सिकाइएको सहभागिहरुले बताएका छन् । 

पाठशालामा खडेरी कारण असर गर्ने वाली काँक्रा, लौका, निन्जा जातको खेतीमा अभ्यास गरिएको छ । सहभागी फुलकुमारी चौधरीले परम्परागत तरिका र आधुनिक तरिकामा गरिएको परीक्षणमा खडेरीका कारण खेतीगर्दा आधुनिक तरिका प्लास्टिक मलचिंग, पराल मलचिंग तोरी भुस खाल्डो विधि, प्लास्टिक घरको प्रयोग आदि विधि उत्तम रहेको बताउनुभयो । 

आफूले जलवायु परिवर्तनका करण मौसम पूर्वअनुमान गरी खेतीका विभिन्न क्रियाकलापहरू गर्ने, खेती गर्ने बेलादेखि नै हुने सम्भावित जलवायु परिवर्तन र त्यसका अनुकूलनका उपायहरूका बारेमा जानकारी लिई खेती प्रविधि बारेमा सिकेकोे उहाँले बताउनुभयो ।

दिगो विकास समाज भजनीका परियोजना अधिकृत प्रभु ढकालले जलवायु परिवर्तनका कारण खेतीवालीमा असर गर्न थालेपछि किसानलाई जनवायु अनुकुलन खेती गर्नका लागि उत्प्रेरित गर्न यो कार्यक्रम लागु भएको बताउनुभयो ।