• २१ असार २०८१, शुक्रबार

बाँकेमा खेलाडीका लागि दोस्रो ठूलो पौडी पोखरी सञ्चालनमा

blog

खेलाडीका लागि खजुरामा सञ्चालनमा आएको बाँकेको दास्रो पौडी पोखरी । तस्विर: सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, वैशाख १६ गते । बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । 

जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको पौडी पोखरीलाई खेलाडीका लागि सञ्चालनमा ल्याइएको पोखरीका सञ्चालक टेक श्रेष्ठले बताउनुभयो । 

यसअघि आठौँ राष्ट्रिय खेलकुदको अवसरमा नेपालगञ्जस्थित रङ्गशालामा ललितपुर पछिको देशकै सबैभन्दा ठूलो पौडी पोखरी निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो । 

खजुरास्थित मिनिपार्क एण्ड रिपोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको निर्माण पुरा गरेर सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताउनुभयो । 

उहाँले ‘स्वास्थ्य र सुरक्षाको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पौडी पोखरी सञ्चालनमा ल्याइएको जनाउँदै खेलाडी उत्पादन गर्ने उद्देश्यले पौडी पोखरीको निर्माण गरिएको बताउनुभयो । 

श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाइ १२.५ मिटरको रहेको छ । जहाँ एकै पटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब दुई करोड रुपियाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ । 

सो पोखरीमा बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराएको पोखरी पनि निर्माण गरिएको छ । सो पोखरीमा खेलाडीलाई प्रशिक्षणको समेत व्यवस्था गरिएको छ ।