• ७ वैशाख २०८१, शुक्रबार

अब पन्ध्र दिनमै राहदानी

blog

काठमाडौँ, वैशाख १६ गते ।  काठमाडौँकी प्रतीक्षा श्रेष्ठले विद्युतीय राहदानी बनाउन आवेदन दिएको एक सातामै फोटो खिचेर फाराम भर्ने मिति पाउनुभयो । दुई महिनाअघि यस्तो असम्भवजस्तै थियो । 

उहाँले भन्नुभयो, “एक महिना लाग्न सक्छ भनेको थियो तर एक हप्तामै फोटो खिच्न बोलायो ।” उहाँका श्रीमान्को राहदानी पनि १५ दिनभित्रै बन्यो । दुई महिनाअघि बनाउन जाँदा धेरै सेवाग्राही त्रिपुरेश्वरस्थित राहदानी विभागबाहिरको सडकबाटै फर्कन बाध्य हुन्थे । यस्तो समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र प्रधानमन्त्री कार्यालयको चासो कारक रह्यो । 

२०७९ माघ १६ देखि लागू हुने गरी विभागले एकमहिने अनलाइन बुकिङ प्रक्रिया थालेपछि सेवामा सुधार आएको हो । काठमाडौँबाट विभागमा फाराम भरेकाको मात्र होइन, बाहिरी जिल्लाबाट दु्रत सेवा लिन फाराम भरेकाले पनि छिटो फोटो खिच्न र राहदानी लिन पाएका छन् । 

धरानबाट फाराम भरेर द्रुत सेवाका लागि आवेदन दिनुभएकी रेनुका राईले सोचेभन्दा छिटो फोटो खिच्न र डिजिटल विवरण भर्ने अवसर पाउनुभयो । राईले खुसी व्यक्त गर्नुभयो, “एक महिना भने पनि १५ दिनमै हात प-यो मेरो पासपोर्ट ।” 

बिहीबार पनि विभाग परिसरमा सेवाग्राहीले सहज रूपमा सेवा पाएका थिए । नयाँ आवेदन दिने, फोटो खिच्न पालो कुर्ने र अन्य कागजात बनाउने आफ्नै समयमा खुरुखुरु आइरहे । न त साइबरमा फाराम भर्न कुर्नुप-यो, न त भित्र जानकै लागि अनावश्यक झन्झट नै बेहोर्नु प-यो । 

अघिल्लो र पछिल्लो दुवै गेटबाट आउने जानेलाई व्यवस्थित गर्न प्रहरी खटाइएकाले पनि भित्रका कामकाजी झ्यालमा अनावश्यक भीड हटेको छ । यसअघि भित्र पस्नकै लागि सेवाग्राही अनेक बहानाका कागज बोकेर छिर्थे । आफ्नो मितिमा आएकाको कागजात हेरेर प्रहरीले गेटमै जाँच गरेर पठाउने गरेकाले समस्या कम भएको छ । 

विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव पनि पहिलेजस्तो भीडभाडयुक्त तनाव नभएकाले सेवाग्राहीलाई सहज भएको बताउनुहुन्छ । भीड कम र व्यवस्थित भएसँगै विभाग साँच्चैको सेवा दिने निकायजस्तो हुन थालेकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । 

यादवले भन्नुभयो, “सेवा राम्रो हुँदा काम गर्न र सुधारका लागि अघि बढ्न सजिलो भएको छ । आमनागरिकका गुनासा पनि धेरै आएका छैनन् ।” उहाँका अनुसार अहिले डिजिटल इन्रोलमेन्टका लागि दैनिक एक हजार पाँच सय जनाले समय पाउने गरेका छन् । जसमध्ये एक हजार चार सय हाराहारी आउँछन् । 

त्यसरी आएकालाई पनि विभागले बाहिर सडक आसपासभन्दा भित्रै पर्खिने ठाउँमा व्यवस्थित गरेको छ । विभागका निर्देशक डमरुबल्लभ पौडेलले पनि एकमहिने अनलाइन बुकिङले विभाग नै कुरूप बनाउने गरी हुने भिड स्वाट्टै घटेको बताउनुभयो । सबै मानिसले विद्युतीय राहदानीको पहिलो खुड्किलोका रूपमा रहेको आवेदन फाराम नै भर्न समय नपाएकाले भिड बढेको बुझाइ उहाँको छ ।

सुधार हुन अझै बाँकी छ 

अनलाइन फाराम भर्ने तनावबाट सेवाग्राहीले मुक्ति पाए पनि इन्रोलमेन्टका लागि नै भनेर एक महिना दायाँ–बायाँ नगरी पर्खेर बस्नुपर्ने समस्या भने ज्युँ का त्युँ छ । रामेछापकी रमिला बस्नेतले एक महिनाअघि भरेको फारामको इन्रोलमेन्ट बल्ल बिहीबार पाउनुभयो । उहाँले पालो कुर्दाको पीडा सुनाउनुभयो, “कोरिया जानका लागि भाषा पढ्दै छु, फाराम भर्न पासपोर्ट पहिले चाहिने भनेकाले भरेको, एक महिना लाग्यो ।” उहाँकै जस्तो समस्या धेरैको छ । 

विभागकै क्षमता दिनको एक हजार पाँच सयको मात्र इन्रोलमेन्ट गर्ने भएकाले बढाउन नसकिएको महानिर्देशक सुरेन्द्र यादवले बताउनुभयो । पर्खनुपर्ने अवस्थाको अन्त्य गर्ने योजना छ तर त्यसका लागि क्षमता विस्तार गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । 

बिचौलियाको उपस्थिति अझै

विभागमा पहुँच पु-याउन बिचौलियाले साइबरमार्फत अझै पनि कोसिस जारी राखेका छन् । बिहीबार पनि हिमाल राई, सन्तोष गुरुङलगायतको एक मुठा फाराम बोकेर एक जना भित्र प्रवेश गरेर फाराम झ्यालबाट प्रवेश गराइदिए । त्यसबापत थप मूल्य पनि लिए । जिल्लाबाहिरबाट फाराम भर्दा पनि यस्ता समस्या कायम रहेको सेवाग्राहीले बताएका छन् । 

विभागले बिचौलिया रोक्न सादा पोसाकमा प्रहरी पनि खटाएको छ । तिनलाई छलेर पनि बिचौलियाले छिटो काम गराउने बहानामा सेवाग्राहीलाई प्रलोभनमा पार्ने काम गरिरहेको छ । विभागले पनि त्यस्ता क्रियाकलाप गर्नेलाई पक्रेर प्रहरीलाई बुझाउँदै आएको जनाएको छ । हरेक साता तीनदेखि चार जनालाई कालीमाटी प्रहरीमा बुझाउने गरेको विभागले जानकारी दिएको छ ।