• २५ पुस २०८१, बिहिबार

चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

blog

चिनियाँ नाैसेना ।

बेइजिङ, वैशाख १४ गते । चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।  

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएपछि विश्वका विभिन्न मुलुकले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन् ।     

दश दिन लामो युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव भएको छ । सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ । चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ ।     

युद्धविरामको अवधि समाप्त हुनुअघि नै सुडानबाट कम्तीमा आठ सय चिनियाँ नागरिकलाई समुद्रीमार्गबाट उद्धार गर्ने लक्ष्य रहेको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता तान केफेइले पनि सुडानको अवस्था बिग्रँदै गएकाले त्यहाँबाट आफ्ना नागरिकलाई यथाशक्य चाँडो उद्धार गर्न नौसेना प्रतिबद्ध रहेको बताएका छन् । चिनियाँ नागरिकको जीवन र सम्पत्ति रक्षार्थ सुडानका निम्ति नौसेना परिचालन गरिएको उनले बताएका छन् । प्रवक्ता तानका अनुसार गत सोमबार नै करिब तीन सय नागरिक सतहमार्ग भएर सुडानबाट बाहिरिएका छन् ।     

सुडानको रक्षा मन्त्रालयका अनुसार दशदिने युद्धमा पाँच सय १२ जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । ग्रेटर खार्तुमकाा केही भागका भवन भग्नावशेषमा परिणत भएका छन् । राजधानी खार्तुमको अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले धेरै विदेशीले आफ्ना नागरिकलाई वैकल्पिक अन्य मार्गबाट उद्धार गरेका छन् । उद्धारका निम्ति खार्तुम बाहिरका साना ‘एयर स्ट्रिप’हरू प्रयोग गरिएका छन् । खार्तुमबाट आठ सय ५० किलोमिटर टाढा रहेको सुडान पोर्टबाट पनि उद्धारका काम युद्धस्तरमा भइरहेका छन् ।     

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले सुडानीहरू चाड, इजिप्ट, दक्षिण सुडानलगायत स्थानतर्फ भागेका बताएका छन् । इण्डोनेसियाली सेनाले बुधबार सुडान पोर्टबाट एक सय १० जना आफ्ना नागरिकलाई उद्धार गरी साउदी अरबको जेद्दा पुर्‍याएको छ । हालसम्म छ सय ६७ जना इण्डोनेसियाका नागरिकको उद्धार भइसकेको छ । – (रासस/एएफपी)