• १० असार २०८२, मङ्गलबार

सीसीटीभी जडानका लागि सहकार्य

blog

काठमाडौँ, वैशाख ८ गते । महानगरपालिका क्षेत्रभित्र सीसीटीभी (क्लोज सर्र्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरद्वारा जारी विज्ञप्तिअनुसार महानगरले नेपाल प्रहरीलाई छ करोड रुपियाँ उपलब्ध गराउनेछ ।

सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्यसम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गर्न महानगर क्षेत्रमा थप सीसीटीभी जडान गर्न लागिएको महानगरले जनाएको छ । महानगरका प्रमुख शाहले सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटीभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकारजस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ ।”

“नेपाल प्रहरीले महानगरसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्छ । महानगरपालिकाले युवा प्रमुख प्राप्त गरेपछि सुधारका काममा हामी पनि उत्साहित छौँ,” अतिरिक्त महानिरीक्षक ज्ञवालीले भन्नुभयो, “महानगरका क्षेत्रगत काममा प्रहरी जोडिन सक्छ ।”