• १० असार २०८२, मङ्गलबार

चन्द्रपुर नगरपालिकाको बजेट एक अर्ब २१ करोड

blog

१५ औं अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुहुँदै मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईलगायत । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असार १० गते ।
रौतहटको चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब २१ करोड ५९  लाख ५१  हजार छ सय ४० रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

चन्द्रपुर नगरपालिकाको  १५  औं अधिबेशनमा  नगर उपप्रमुख जयमाला कुमारी चौधरीले प्रस्तुत गर्नु भएको कुल बजेटमा  संघ सरकारको राजस्व बाँडफाँट १६ करोड ३५ हजार, संघ सरकार वित्तीय समानीकरण अनुदान १७ करोड ९७ लाख, संघ सरकार सशर्त अनुदान चालु ३६ करोड ४० लाख रहेको छ ।

संघ सरकारकै सशर्त अनुदान पुँजीगत तीन करोड ६९ लाख, संघ सरकार विशेष अनुदान पुँजीगत चार करोड, संघ सरकार समपुरक अनुदान पुँजीगत ६५ लाख रहेको छ । यस्तै, प्रदेश सरकार समानीकरण अनुदान एक करोड २४ लाख ५२ हजार, प्रदेश सरकार समपुरक अनुदान ६३ लाख १५ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख, प्रदेश सरकार सशर्त अनुदान ४० लाख ५३ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट एक करोड ७५ लाख ९६ हजार ६ सय ४० रुपियाँ रहेको छ  । सामाजिक सुरक्षा भत्ता २९ करोड, ग्रामीण विकास केन्द्र ९० लाख ६० हजार एक सय २८ रुपियाँ, छाँया नेपाल एक करोड ५० लाख, मालपोत तीन करोड र आन्तरिक आय चार करोड ५० लाख रुपियाको स्रोत बजेट विवरणमा उल्लेख छ  ।

नगरपालिका उपप्रमुख चौधरीले प्रस्तुत गर्नु भएको आगामी आवको नीति तथा कार्यक्रममा पाँच लाखभन्दा घटिको योजना वडाले छनोट नगर्ने, नगर यातायात गुरुयोजना तयार गर्ने, भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या चाँडै समाधान गर्ने, रेबिज एवम् सर्पदंशको आवस्यक उपचारको व्यवस्था, ट्रमा सेन्टर स्थापनाका लागि पहल लगायतका कुरा समेटिएको छ ।

पूर्ण साक्षर वडा र नगरपालिका घोषणा अभियानलाई निरन्तरता, उच्च शिक्षा छात्रवृति योजना, बालश्रममुक्त नगरपालिका घोषणा अभियानलाई निरन्तरता, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै सम्मान, बेरुजु फर्छ्यौटलाई तीव्रता, एक वडा एक बाली उत्पादनलाई विशेष प्राथमिकता र नगर प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतबिच तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखबिच कार्यसम्पादन सम्झौता लगायतका कुरा नीति तथा कार्यक्रममा समेटिएको छ ।