राजु लामिछाने
रुकुमपश्चिम, असार १० गते । रुकुमपश्चिममा छुट्टाछुट्टै स्थानमा भएका चार दुर्घटनामा १३ जना घाइते भएका छन् । सोमबार र मङ्गलबार जिल्लाका चार स्थानमा दुर्घटना भएकाे हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार बिहान मुसीकोट नगरपालिका १ रातामाटाबाट खलङ्गा बजार आउँदे गरेको रा ४ प ७८८२ नम्वरको स्कुटर पातुखोलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा मुसीकोट नगरपालिका ५ निवासी ५० वर्षीय चालक केवलसिंह दमाई र वडा नम्वर १ निवासी ३६ वर्षीया पुष्पा शाही घाइते हुनुभएको हो । दमाईको बायाँ हात र खुट्टामा र शाहीको बायाँ खुट्टामा चोट लागेकाे छ । उहाँहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा लिइएको छ ।
त्यसैगरी गएराती मुसीकोट नगरपालिका १ सल्लेबाट खलङ्गा आउँदै गरेको रा १ त २९२० नम्वरको ट्याक्टर सल्लेमा मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएको हो । मुसीकोट नगरपालिका ७ निवासी २२ वर्षीय मोहन पुन घाइते हुनुभएको प्रहरीले जनाएको छ । पुनको टाउको, अनुहार र दुबै हातमा चोट लागेको छ । उहाँको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार बेलुका रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ४ सालगारिमा भएको जिप दुर्घटनामा पाँच जना घाइते भएका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका ४ धादिङस्थित जनप्रिय माविबाट शैक्षिक भ्रमणका लागि आएको लु १ ज २४७० नम्बरको जिप स्यार्पुताल पुगेर फर्कँदै गर्दा ब्रेक फेल हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सिस्ने गाउँपालिका ४ दादिङ निवासी १५ वर्षीया एसोधा घर्ती, सोही स्थानकी ४१ वर्षीया रामकुमारी बुढा, ५० वर्षीय नरहरि पुन, ४२ वर्षीय गणबहादुर विक र ३२ वर्षीया समीक्षा घर्ती रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
घाइतेमध्ये तीन जनालाई छिनखेतस्थित कुसारी मेडिकलमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने दुई जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।
त्यसगैरी सोमबार दिउँसो मुसीकोट नगरपालिका ४ बैरागीठाँटी नजिकै ट्याक्टर र अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा त्रिवेणी गाउँपालिका २ सिम्रुतु निवासी २२ वर्षीय ट्याक्टर चालक अजय पुन मगर, त्रिवेणी गाउँपालिका ७ निवासी ४२ वर्षीय अटो चालक कृष्णबहादुर ओली, सोही गाउँको सेनाखर्क निवासी ३२ वर्षीय राकेश बुढाथोकी, मुसीकोट नगरपालिका ११ निवासी ३२ वर्षीय नवराज सार्की र उहाँकी ४ वर्षीया छोरी जेनिशा सार्की छन् ।
घाइतेहरुलाई तत्कालै उद्धार गरेर सोलाबाङस्थित कर्ण मेडिकलमा उपचार गरिएको थियो । आठबिसकोट नगरपालिका ९ राडीबजारबाट सिम्रुतुतर्फ जाँदै गरेको रा १ त ५०५८ नम्वरको ट्याक्टरले सोही दिशातर्फ आउँदै गरेको लु.प्र. ०२००१ ह ०४६६ ननम्वरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।