• १० असार २०८२, मङ्गलबार

घरपझोङ गाउँपालिकाले जलवायु न्यूनीकरणका लागि सम्मेलन गर्ने

blog

मुस्ताङको घरपझोङ गाउँपालिकाको १६ औं गाउँसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिकी प्रमुख माया गुरूङ ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), असार १० गते । जलवायु परिवर्तनका कारण मुस्ताङले भोगेको पीडाका बारेमा स्थानीय सरकारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दवाब दिन मुस्ताङको घरपझोङ गाउँपालिकाले ७ सय ५३ वटै स्थानीय तहका प्रमुखहरूको सम्मेलन गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि वार्षिक नीति तथा कार्यक्रममार्फत स्थानीय सरकारका प्रमुखहरूको उपस्थितिमा सम्मेलन गरी सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनका बारेमा प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्ने जनाएको छ ।

गाउँपालिकाको प्रशासकीय भवनमा मङ्गलबार आयोजित १६ औं गाउँ सभामार्फत पर्यटन प्रवर्धन तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ७५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष मोहनसिङ लालचनले जलवायु परिवर्तनमा मुस्ताङले नगरेको गल्तीको सजाय  भोग्नुपरेको अवस्थामा सम्मेलनमार्फत स्थानीय तहको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायलाई समेत हानि–नोक्सानीको क्षतिपूर्तिको माग गर्ने बताउनुभयो । 

अध्यक्ष लालचनले यस वर्ष आयोजित जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि वार्षिक नीति तथा कार्यक्रममार्फत ३२ करोड बजेट ल्याएको छ । ३२ करोड ६ लाख ३३  हजार १८१ रुपियाँको बजेट ल्याएको हो । 

चालु खर्चतर्फ १९ करोड ५६ लाख र पुँजीगततर्फ १२ करोड ५० लाख रुपियाँ बजेट प्रस्ताव गरेको गाउँपालिका उपाध्यक्ष जमुना थापाले बताउनुभयो। कृषि, पर्यटकीय, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक तथा धार्मिक हिसाबले प्रशस्त सम्भावना बोकेको क्षेत्रहरूलाई केन्द्रित गरी ल्याइएको उपाध्यक्ष थापाको भनाइ छ । 

गाउँसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिकी प्रमुख माया गुरूङले कर्मचारी संयन्त्र र राजनीतिलाई एकअर्काका परिपूरक भएकाले गाउँपालिकामार्फत विभिन्न क्षेत्रमा गरिएका कार्यक्रमहरु उत्कृष्ट रहेको बताउनुभयो । 

गाउँपालिकाले कला र संस्कृति, याकखर्क, ढुम्बा तालका साथै गाउँपालिकाभित्र रहेका प्राचीन सभ्यता झल्किने बस्तीहरू पर्यटकलाई भित्राउने गरी पूर्वाधार विस्तार गरिने तथा राजा ठोकरचेनले शासन चलाएको झरपझोङ किल्लाको भग्नावशेष, दरबारको संरक्षणसहितका कार्यहरु गरिने जनाएको छ ।