काठमाडौँ, असार १० गते । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा जागिर लगाई दिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १५ घर भएका ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
उनले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकाल्दिन्छु भनी पीडितबाट चार लाख एकानब्बे हजार रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । ठगी गरी फरार रहेका उनलाई सोमबार काठमाडौँ नागार्जुन नपा-७, रामकोटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको जनाएको छ ।