• १० असार २०८२, मङ्गलबार

योजनालाई व्यवस्थित गर्न आयोजना बैँक कार्यान्वयनमा ल्याइने

blog

हेटौँडा उपमहानगरपालिकाको मङ्गलबार भएको १७ औँ नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मीनाकुमारी लामा । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, असार १० गते ।
हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका योजनालाई व्यवस्थित गर्न आयोजना बैँक कार्यान्वयनमा ल्याउने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको मङ्गलबार १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले आगामी आवबाट आयोजना बैँक कार्यान्वयनमा ल्याउने बताउनुभएको हो । 

उहाँले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैँकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताउनुभयो ।

आगामी आवमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।

युवा लक्षित कृषि कार्यक्रम सञ्चालन, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहित गर्ने र एक वडा, एक कृषि उत्पादन कार्यक्रममा १३ मा मेवा खेती र वडा नं. १ कोदो खेती कार्यक्रमलाई निरन्तरता आगामी आवमा पनि निरन्तरता दिइने भएको छ ।

उहाँले स्वच्छ उत्पादनशील समृद्ध सहर हेटौँडा भन्ने सोचको आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

२०८१/०८२ मा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा अपेक्षा अनुसार वृद्धि नहुँदा कतिपय महत्त्वपूर्ण योजना र कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै उहाँले हेटौँडा १० को निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।

यस्तै, अनलाइन नक्सा प्रणाली कार्यान्वयनमा ल्याइने, हेटौँडा ४ मा बहुउद्देश्यीय तथा व्यावसायिक भवन निर्माण भएको ढिलाई र अन्यौलताको कानुन सम्मत् निकास निकाली भवन निर्माण प्रक्रिया अगाडि बढाइने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ ।

यसैगरी, रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाई बेरोजगार व्यक्तिलाई सिप सिर्जना माध्यमबाट रोजगारमा जोड्ने र स्थानीय सामुदायिक पूर्वाधार मर्मत सम्भारलगायतका श्रममूलक कार्यमा संलग्न गराई लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याइने नीति लिइनेभएको छ ।

नगर प्रमुख लामाले वडा नं. १३ र १६ का नगर अस्पताललाई सङ्घ र प्रदेश सरकारको समन्वय र सहकार्यमा आवश्यक पूर्वाधार विकास गरी स्वास्थ्य बिमासहितको अस्पतालको रुूपमा विकास गरिने बताउनुभयो ।

पालिकाको स्रोत वृद्धि गर्न करका दायरका विस्तार गर्ने नीति आगामी आवमा उपमहानगरपालिकाले लिने भएको छ । पर्यटन प्रवर्धनलगायतका साझा सरोकारका कार्य गर्न अन्तरपालिका समन्वय सञ्जाललाई कार्यविधि बनाई कार्यान्वयन व्यवस्थित गरिने नगर प्रमुख लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताउनुभयो ।