• १० असार २०८२, मङ्गलबार

पाडीमा सिस्नु उद्योग सञ्चालन

blog

सिस्नु उद्योग सञ्चालन गरिएको हिमाली गाउँपालिका ६ पाडी गाउँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, आसर १० गते । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको पाडीमा सिस्नु उद्योग सञ्चालन गरिएको छ । यहाँका स्थानीयको सिस्नु उद्योगले आर्थिक रुपमा अघि बढ्न सकिने देखिएकाले गाउँपालिकाले यहाँका विभिन्न संस्थासँग समन्वय गर्दै पाडीमा सिस्नु उद्योग सञ्चालन गरिएको हो ।

गाउँमा जताततै खेर गइरहेको अर्गानिक सिस्नुलाई प्रयोगमा ल्याउने गरी पाडीमा सिस्नु उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको हिमाली गाउँपालिकाले जनाएको छ । 

हिमाली गाउँपालिकाको पाडीमा जताततै सिस्नु पाइन्छ । त्यो सिस्नु अहिलेसम्म त्यत्तिकै खेर गइरहेको छ । मानव स्वास्थ्यका लागि यो सिस्नु निकै लाभदायिक भए पनि यसको प्रशोधन गर्ने तरिका स्थानीयलाई थाहा नहुँदा यो सिस्नु प्रयोमा नआएको पाडीका स्थानीय धनराज रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाको समन्वयमा यहाँका विभिन्न संस्था गाउँमा आएर सिस्नुलाई प्रशोधन गर्ने गरी सिकाउँदै गएका छन् । ती संस्थाहरुले सिस्नुलाई पिस्ने तथा पाउडर बनाउने विभिन्न प्रकारका मेसिनसमेत दिएका छन् ।”

केही दिनभित्र पाडीको गाउँमा नै सिस्नु उद्योग सञ्चालन गरी यहाँको सिस्नु जिल्ला तथा जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा पुर्‍याउने वा बिक्री गर्ने योजना रहेको हिमाली गाउँपालिका–६ का पाडीका स्थानीय धनराज रावलले बताउनुभयो ।

सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्व हुन्छ । यसमा भएको पोषक तत्व र औषधीय गुणले मानव स्वास्थ्यमा यसले अनेक फाइदा पुर्‍याउँछ ।

हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा सिस्नु प्रशस्त पाइन्छ । लामो समयदेखि खेर गएको यो सिस्नु प्रयोगमा ल्याएर यहाँका स्थानीयको आयआर्जनमा थप टेवा पुर्‍याउने गरी गाउँमा सिस्नु उद्योग सञ्चालन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पहिलो पटक हिमाली गाउँपालिकाको पाडीमा सिस्नु उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि अहिले यहाँका झण्डै बाह्र जनालाई सिस्नुको पाउडर प्याकिङ् गर्ने जस्ता तालिम दिएका छौं ।” 

केही दिन पछि यी तालिम लिएका बाह्र जनाले नै पाडीमा सिस्नु उद्योग सञ्चालन गर्नेछन् । सिस्नु उद्योग सञ्चालन गरेपछि सिस्नुको प्रयोगसँगै यसको उत्पादनमा समेत जोड दिने भएको छ । यसरी यहाँ भएको सिस्नु र उत्पादन गरेको यहाँको अर्गानिक सिस्नुलाई बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना रहेको अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

बाजुरामा योभन्दा पहिला गौमुलमा सिस्नु उद्योग सञ्चालन भएको थियो । त्यसलाई लामो समयसम्म टिकाउन नसक्दा केही समयपछि त्यो उद्योग बन्द भएको थियो । अहिले फेरि हिमाली गाउँपालिकाले यहाँको पाडीमा सिस्नु उद्योग सञ्चालनमा गरेको छ । 

बाजुराको हिमाली स्वामिकार्तिक खापर जगनाथ बुढीनन्दा बडिमालिका गौमुल बुढीगङ्गा त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकामा सिस्नु प्रशस्त मात्रामा पाइन्छ । तर यसको प्रशोधन प्रवर्द्धन भने अहिलेसम्म कुनै पालिकाले गरेको छैन । 

पाडीमा सिस्नु उद्योग सञ्चालनमा ल्याउने गरी हिमाली गाउँपालिकाले यसको सुरुवात गरेको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।