• १० असार २०८२, मङ्गलबार

देशमै बन्न सकोस् छाता

blog

बजारमा माग भएका वस्तु तथा सेवा उत्पादनमा लगानी गर्न सक्नु लाभकारी उद्यम हुन सक्छ । यस्तो लगानीले रोजगारी सिर्जना गर्छ । आय, उत्पादन र बजारले थप रोजगारीको बाटो खोल्छ । नेपालको अर्थतन्त्र आयातमा निर्भर हुँदै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा व्यापारघाटा १३ खर्ब १४ अर्ब रुपियाँ पुगेको छ । देशभित्र सुनिश्चित माग र बजार भएको कतिपय वस्तु उत्पादन गर्न उद्यमीको पहल पुग्न सकेको छैन । सरकारले पनि देशभित्रै वस्तु उत्पादन र विस्तारलाई भन्दा आयात गरेर राजस्व सङ्कलनको परम्परामै रमाइरहेको पाइन्छ । देशमा पर्याप्त विद्युत् शक्ति विस्तार भइरहेको छ । विद्युतीय शक्ति उद्यमधन्दा खोल्न र विस्तार गर्न महत्वपूर्ण आधार हो । त्यसै गरी देशभित्र रोजगारीको अवसर नभएर ठुलो जनसङ्ख्या बिदेसिनु परेको छ । देशभित्रै उद्योग विस्तार हुन सक्दा रोजगारीको अवसर प्राप्त हुन्छ । यस्ता धेरै

वस्तुमध्ये देशभित्रै सुनिश्चित बजार भएको वस्तु छाता पनि देखिएको छ । छाता जस्तै अरू अनेक वस्तुको उत्पादन पनि स्वदेशमा गर्न सकिने सम्भावना नभएको होइन तर छातामा ठुलो प्रविधि आवश्यक पर्दैन । जानकारका अनुसार व्यापक लगानीसमेत आवश्यक पर्दैन । देशभित्रकै उद्यमीले आँट गर्न नसक्दा वैदेशिक लगानीको पनि सम्भावना हुन्छ । देशभित्र छाता उत्पादन गरेर छिमेकी बजारमा पनि निर्यात गर्न सकिने सम्भावना हुन सक्ने छ ।

नेपालमा छाताको सुनिश्चित बजार तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा मात्रै नेपालले दुई करोड ११ लाख थान छाता आयात गरेको छ । यो सानो सङ्ख्या होइन । पञ्चायत शासनका बेला कुनै वर्ष देशको जनसङ्ख्याभन्दा बढी छाता आयात भएको बताइने गरिन्थ्यो । भारतीय बजार खुला नभएकाले नेपालमा छाता आयात गरी गैरकानुनी रूपमा निर्यात गरिएको पनि भन्ने गरिन्थ्यो । अहिले छाता ल्याएर फेरि बाहिर पठाउने अवस्था त छैन होला तर विगत पाँच वर्षमा मात्र नेपालले दुई अर्ब ५४ करोड रुपियाँ घामपानी छेक्ने छाताकै निम्ति बाहिर पठाइएको छ । नेपालमा सबैभन्दा धेरै छाता छिमेकी मुलुक चीनबाट आयात हुने गर्छ । भन्सार विभागको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा आयात हुने कुल छातामध्ये ९० प्रतिशत हिस्सा त चीनकै छ । यसबाहेक भारत, थाइल्यान्ड, मलेसियाबाट पनि छाता आयात हुने गर्छ । त्यति मात्र कहाँ हो र ? अस्टे«लिया, कम्बोडिया, इजरायल, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र बु्रनाईबाट पनि छाता नेपाल आउँछ । वार्षिक औसत तथ्याङ्क अनुसार नेपाली बजारमा बर्सेनि औसतमा ४५ लाखभन्दा बढी छाता किनिन्छ । पछिल्लो छाता आयातको विवरण हेर्दा यसको माग क्रमिक रूपमा बढेको नै देखिन्छ । तीन वर्षयता यसको माग अझ तीव्र रूपमा बढेकाले छाताको उद्योग खोल्दा घाटा हुन सक्ने अवस्था भने छैन । 

देशभित्रै छाताको उद्योग भए बहुआयामिक सकारात्मक प्रभाव पर्न सक्छ । छाता आयातले मुलुकबाट बाहिरिने बर्सेनि करोडौँ रुपियाँ देशभित्रै बस्छ । त्यो पैसाले थप लगानीको बाटो खोल्छ । जानकारका अनुसार छाताका निम्ति ठुलो प्रविधि पनि आवश्यक पर्दैन । कम जनशक्तिबाटै पनि छाता उद्योग चल्न सक्छ । अझ आश्चर्यको कुरा त देशभित्र छाता उद्योग खोल्ने प्रयाससम्म भएको छैन । विगतमा राजधानीका न्युरोड तथा असनमा छाताको तयारी सरसमान ल्याएर गाँसगुस पारेर छाता तयार हुनेसम्म अवस्था थियो । अहिले त्यस्तो काम पनि छैन । तयारी छाता नै आयात गर्ने गरिएको छ । छाता मर्मतसम्भार गर्ने सिपालु जनशक्ति पनि अभाव छ । थोरै मात्र छाता बिग्रियो भने फेरि नयाँ छाता किन्न उपभोक्ता बाध्य छन् । छातामा तुलनात्मक लाभ नदेखिएकाले देशभित्र उत्पादन हुन नसकेको उद्यमीको भनाइ छ । स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिए पनि त्यस्ता कतिपय लक्ष्य कागजमै सीमित छन् । उत्पादन लागत, प्रतिस्पर्धात्मकता र तुलनात्मक लाभ विश्लेषण गर्ने उद्यमी देशभित्र छाता उद्योगको भविष्य देख्न सक्दैनन् । उदारीकरण, खुला तथा बजार अर्थतन्त्रले कतिपय वस्तु देशभित्र उत्पादन गर्नुभन्दा आयातमै रमाउने गरिन्छ । अब त्यसो नगरौँ । स्वदेशमै उत्पादनको विकल्पमा मिहिन गृहकार्य गर्न थालौँ । स्वनिर्भर अर्थतन्त्रतर्फ ध्यान जाओस् ।