शिक्षा क्षेत्रमा फलामे ढोका मानिने एसएलसीलाई समाजले महत्वका साथ हेर्ने गर्दथ्यो । एसएलसीको फेरिएको रूप एसइईको नतिजाले विद्यार्थी, अभिभावक, विद्यालय, समाज र राज्यको ध्यान केन्द्रित गरिरहेकै छ, जुन आवश्यक पनि हो । एसएलसीको तुलनामा हालको एसइईको मूल्य केही कमजोर भएको महसुस हुन्छ । एसइईलाई राज्यले सङ्घीय नभई प्रदेशगत रूपमा सञ्चालन गर्ने प्रस्ताव गर्दै छ । यसको औचित्य नभएको बहस चलाउनेहरू पनि छन् ।
विद्यार्थीले प्रत्येक तहको परीक्षालाई महत्वका साथ लिएमा मात्र गुणात्मक शिक्षाको कल्पना गर्न सकिन्छ । गुणात्मक शिक्षा भनेको निरन्तर मेहनतको परिणाम हो । यो वा त्यो कक्षाको परीक्षाको महìव छैन भन्ने कुनै पनि तर्क विद्यार्थीका लागि हानिकारक हुन्छ । गुणस्तरीय शिक्षाका लागि निरन्तरको अध्ययन, मेहनत तथा खोजको संस्कार जरुरी हुन्छ । यसलाई खण्डीकृत गरियो भने आवश्यक पर्नेबित्तिकै जोड्न कठिन हुन्छ । जुनसुकै तहको परीक्षा पनि विद्यार्थीका लागि तनावपूर्ण बन्न जान्छ । राज्यले सकेसम्म प्रत्येक कक्षाका शैक्षिक प्रमाणपत्रलाई महत्वपूर्ण मानी सोही अनुसारको सन्देश प्रवाह गर्नु पर्छ । यसै सन्दर्भमा प्रसिद्ध अमेरिकन मनोवैज्ञानिक एवं शिक्षाविद् बेन्जामिन ब्लुमको भनाइ सम्झनु आवश्यक छ, “हरेक कक्षामा सिकाइको सफलताका लागि मूल्याङ्कन र सुधार निरन्तर हुनु पर्छ । कुनै कक्षा बेवास्ता गर्नु हुँदैन ।”
नेपालको संविधानले प्रत्येक नागरिकलाई विद्यालय शिक्षा निःशुल्क पाउने सुनिश्चित गरेको छ । संविधानमा लेखिएको १० वर्ष पूरा हुन लाग्दासमेत कमजोर आर्थिक स्रोतका कारण अहिलेसम्म ११ र १२ कक्षाका लागि कुनै पनि विद्यालयमा स्थायी दरबन्दी सिर्जना गर्न सकिएको छैन । केवल अस्थायी, राहत तथा अनुदानबाट मात्र कक्षा सञ्चालन गर्दै आइराखिएको छ । संस्थागत विद्यालयमा रहेका विद्यार्थीको समेत जिम्मेवारी लिनु परेमा राज्यले ठुलो आर्थिक व्ययभार लिनुपर्ने देखिन्छ जुन हालको आर्थिक अवस्थाले धान्न सकिने देखिँदैन । शिक्षा तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र–२०८१ को फ्ल्यास रिपोर्ट अनुसार देशमा सञ्चालित माध्यमिक विद्यालयमध्ये ३८ प्रतिशत (चार हजार ३२९ विद्यालय ) संस्थागत र त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र एक हजार ५९७ माध्यमिक विद्यालय र त्यसमा पनि काठमाडौँ उपत्यकामा ज्यादा बढी र कक्षा ११ र १२ सञ्चालित अझ बढी देखिन्छ । कक्षा ११ र १२ मा भर्ना भएका जम्मा छ लाख ७३ हजार ८८५ विद्यार्थीमध्ये ३३ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा भर्ना हुने गरेका छन् । जसमा १८.८ प्रतिशत (एक लाख २६ हजार ६९० विद्यार्थी) विज्ञान विषय र बाँकी ८१.२ प्रतिशत (पाँच लाख ४७ हजार १९५ विद्यार्थी) अन्य विषय पढ्ने गरेको देखिन्छ । विज्ञान विषय पढ्ने विद्यार्थीमध्ये करिब ५० प्रतिशतभन्दा बढी विद्यार्थी काठमाडाँै उपत्यकामा मात्रै भर्ना हुन्छन् । त्यसमध्येका करिब ९० प्रतिशतभन्दा बढी विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गर्छन् । यति ठुलो सङ्ख्यामा विद्यार्थी विज्ञान विषय पढ्न काठमाडौँका संस्थागत विद्यालयमा भर्ना भए पनि राज्यका तर्फबाट गरिनुपर्ने नियमन हुन नसक्नु, अभिभावक आफ्नो छोराछोरीको चाहनाभन्दा आफ्नो चाहना अनुसारको विषय पढोस् भन्ने सोचाइ राख्नु, विद्यार्थी विद्यालयको अनावश्यक भौतिक सुविधा तथा विज्ञापनका प्रभावमा पर्नु आदि यसका समस्या पनि हुन् । उल्लेखित समस्या समाधान गर्न सबै पक्षले आआफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्न सकेमा राज्यको मुख्य प्राविधिक जनशक्ति उत्पादन गर्ने पूर्वाधारलाई व्यवस्थित गर्न सकिन्छ ।
कक्षा ११ मा भर्ना हुने १६/१७ वर्ष उमेर समूहका बालबालिकाको मनोवैज्ञानिक अवस्था किशोरावस्थाको अन्तिम चरणमा पर्ने भएकाले यस अवधिमा उनीहरू शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा तीव्र परिवर्तनको अनुभव गरिरहेका हुन्छन् । यसैको प्रभावस्वरूप उनीहरूको व्यवहार, निर्णय क्षमता, सामाजिक सम्बन्ध तथा आत्म पहिचानको निर्माणमा विभिन्न मनोवैज्ञानिक पक्षले प्रभाव पारिरहेको हुन्छ । यस विषयमा प्रसिद्ध मनोवैज्ञानिक जिन पियाजेको भनाइ मनन गर्नु पर्छ, “१६–१७ वर्ष उमेर समूहका बालबालिका सैद्धान्तिक सोच र तर्क गर्न सक्छन् तर भावना र आवेगमा चल्ने सम्भावना उच्च हुन्छ ।” यस्तो अवस्थामा मानवीय मनोवैज्ञानिक कार्ल रोगर्स भन्छन्, “भावना र आवेगमा चल्ने किशोरकिशोरीलाई निर्णयमा मार्गदर्शन चाहिन्छ, जबरजस्ती होइन । उनीहरूका कुरा सुन्ने र स्वीकृति दिने वातावरण आवश्यक हुन्छ ।” २०८२ सालको एसइईको परीक्षाफल यही असार महिनाको तेस्रो हप्ता प्रकाशित हुने कुरा अनौपचारिक जानकारीमा आएको छ । परीक्षाफल प्रकाशित भएपछि काठमाडौँ उपत्यकामा विद्यार्थी भित्र्याउन अस्वाभाविक वातावरण सिर्जना हुने गर्छ, यसलाई राज्यले नियमन तथा अनुगमनका साथ व्यवस्थित गरिनु अनिवार्य हुन्छ ।
राज्यको भूमिका : यो उमेर समूहका बालबालिका अत्यन्त संवेदनशील हुने भएकाले पाठ्यक्रम र पाठ्यपुस्तकबाहेक खुला संवादको व्यवस्था, सकारात्मक सोचको विकास, मिडिया चेतना, कौशल विकास, व्यक्तिगत परामर्श अनिवार्य हुने हुनाले ठुलो समूहमा विद्यार्थीलाई राखेर पढाउनु राम्रो मानिँदैन । व्यक्तिगत निगरानी तथा परामर्श चाहिने उमेरमा विद्यार्थी यसबाट वञ्चित हुँदा मार्गनिर्देशनको अभावमा बालबालिका गलत बाटोमा लागेका प्रशस्तै उदाहरण भेटिन्छन् । त्यसैले राज्यले जिम्मेवारी महसुस गरी विश्वविद्यालयले क्याम्पस सञ्चालनको अनुमति दिँदा विभिन्न कार्यक्रम सञ्चालनमा विद्यार्थी कोटा निर्धारण गरे जस्तै कक्षा ११ र १२ पढाउने विद्यालयमा पनि निश्चित मात्राको कोटा निर्धारण गरिनु अनिवार्य छ । उच्च दक्षता भएका विद्यार्थी भर्ना गर्ने विद्यालयले सोही अनुसार कक्षा १२ को परीक्षाको परिणाम अपेक्षा अनुसार ल्याउँछ ।
कक्षा १० सम्म सञ्चालित संस्थागत विद्यालयलाई शुल्क तथा अन्य सम्बन्धमा गरिएको नियमन तथा अनुगमन कक्षा ११ र १२ सञ्चालित विद्यालयलाई गरेको पाइँदैन जुन अत्यावश्यक छ । त्रिविले आफ्ना सम्बन्धन प्राप्त क्याम्पससँग एक महिनाको शुल्क बराबरको सेवाशुल्क लिने गरेको पाइन्छ । त्यसै गरी कक्षा ११ र १२ सञ्चालित संस्थागत विद्यालयलाई राम्रो सेवा दिएबापत थोरै भए पनि शुल्क तोक्न सकिन्छ । जसले थोरै भए पनि आर्थिक स्रोत जुटाउन मद्दत गर्छ र उक्त स्रोतलाई गरिब तथा जेहनदार विद्यार्थीका लागि उपयोग गर्ने नीति बनाउन सकिन्छ ।
अभिभावकको भूमिका
कक्षा ११ र १२ पढ्नका लागि विशेष गरी विज्ञान तथा व्यवस्थापनका केही प्राविधिक विषय (जस्तै : होटेल म्यानेजमेन्ट, टुरिजम, कम्प्युटर साइन्स) सञ्चालित विद्यालय सहरकेन्द्रित छन् । त्यसमा पनि धेरै विद्यालय काठमाडौँकेन्द्रित छन् । गाउँबाट आफ्ना बालबालिकालाई पढाउन (आफ्नो वा छोराछोरीको इच्छा अथवा बाध्यता) काठमाडौँ प्रवेश गर्ने अभिभावकले जान्नुपर्ने केही कुरा बुझेर विद्यालय भर्नाको निर्णय लिनु उचित हुन्छ ।
काठमाडौँमा सञ्चालित कक्षा ११ र १२ का प्रायः विद्यालय (कलेज भन्ने चलन छ) मा उही शिक्षक परिचालित हुने भएकाले पढाउने शिक्षक जुनसुकै विद्यालयमा पुग्दा पनि उनै र उस्तै देख्न पाउनुहुन्छ । कक्षा ११ र १२ को पाठ्यव्रmम वर्षभरि पूरा समय नपढाई तोकेको समयमा सकिँदैन । विद्यार्थी तथा अभिभावकमा राम्रो कक्षा ११ र १२ मा भर्ना भएमा एसइईको तयारी जस्तै तयारी कक्षा सञ्चालन हुन्छ भन्ने मान्यता हुन सक्छ । यो कुनै पनि कलेजमा सम्भव छैन किनकि पाठ्यक्रमको प्रकृति नै तेस्तै छ । कक्षा समयबाहेक अतिरिक्त कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई नियमित कक्षाको गृहकार्यमा समय पुग्दैन । विज्ञान विषय पढिसकेपछि प्राक्टिकलको काम अनिवार्य गर्नै पर्छ । कक्षा ११ र १२ तहका विद्यालयमा देखाइने अन्य अतिरिक्त भौतिक सुविधा विद्यार्थीले प्रयोग गर्ने समय नपाउन सक्छन् । त्यसैले यो वा त्यो बहानामा धेरै शुल्क तिरेपछि छोराछोरीको भविष्य राम्रो हुन्छ भन्ने कल्पना गर्नु आवश्यक देखिँदैन । तपाईंको छोराछोरीको भविष्य उनीहरूकै मेहनतमा भर पर्छ । केवल तपाईंको छोराछोरीको व्यक्तिगत निगरानी हुन सक्ने वा नसक्ने, तपाईंलाई नियमित सम्पर्क गरी विद्यार्थीको राम्रो वा नराम्रो कामको सूचना दिने तथा आवश्यक परेका बेलामा विज्ञ परामर्श हुन सक्ने वातावरण छ/छैन ख्याल गर्नु आवश्यक छ ।
विद्यार्थीको भूमिका
विज्ञान वा व्यवस्थापनका प्राविधिक विषयमा कक्षा ११ र १२ को अध्ययन एसइईभन्दा केही फरक प्रकृतिको हुन्छ । यो उमेरका किशोरकिशोरीले साथीसँगको व्यवहारबाट सिक्ने हुनाले लहडमा नलागी सकारात्मक सोच भएका साथी रोज्नु, समूहको प्रभावबाट सचेत रहनु, अनुकरणयोग्य पात्रको चयन गर्नु पर्छ । कलेजको नाम, साथीको रोजाइ वा प्रचारभन्दा आफ्नो रुचि, क्षमता र सम्भावना बुझ्न आवश्यक छ । आफूलाई बुझ्ने प्रयास गर्नु पर्छ र आफ्नो रुची अनुसारको विषय रोज्नु पर्छ । म के चाहन्छु, मेरो लक्ष्य के हो ? भन्ने प्रश्न गर्न सक्नु पर्छ । आफूलाई ज्ञान नभएमा, अलमलमा परेमा, मनमा दुविधा उत्पन्न भएमा, दबाब वा निराशा महसुस भएमा आफ्ना शिक्षक, आफन्त तथा विज्ञको सुझाव जरुरी हुन्छ । परामर्श कमजोरीको होइन, समझदारी तथा समाधानको सङ्केत हो भन्ने बुझ्नु जरुरी छ ।
एसइईपश्चात्को कक्षा ११ र १२ विश्वविद्यालय अध्ययनको पूर्वाधार हो । विद्यार्थीले रुचि, क्षमता र भविष्यको लक्ष्य मूल्याङ्कन गर्दै निर्णय लिनु पर्छ साथै लहड, दबाब वा प्रचारभन्दा सही मार्गदर्शन र परामर्श आवश्यक हुन्छ । अभिभावकको समझदारीपूर्ण साथ र राज्यको नियमन, कोटा व्यवस्था तथा मनोसामाजिक सुदृढीकरण अनिवार्य छ । त्रिपक्षीय उत्तरदायित्वबाट मात्र गुणस्तरीय शिक्षा र सक्षम नागरिक उत्पादन सम्भव हुन्छ ।