रमेश विश्वकर्मा
गुल्मी, वैशाख ७ गते । गुल्मीको तम्घासमा मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको छ । रेसुंगा नगरपालिका –२ बाघमारेको बेरियल चोकबाट मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको हो ।
साँघुरो सडकका कारण आवत–जावतमा समस्या भएकाले ट्राफिक जाम हुने र सर्वसाधारणलाई हिड्न समेत समस्या भएकाले मापदण्डविपरित सडकलाई ओगटेर बनाइएका सडकपेटीहरु डोजर लगाएर भत्कान सुरु गरिएको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
‘साँघुरो सडक भएका कारण ट्राफिकजाम हुने र एम्बुलेन्स समेत रोक्नुपर्ने अवस्था आएकाले सडकलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । सडक व्यवस्थापन नहुँदा बजारमा धेरै धुलो उडेको छ ।’ नगरप्रमुख पन्थीले भन्नुभयो, ‘नागरिकले सास्ती भोग्नुपरेको छ । नागरिकबाट दिनहु प्रश्न आउनेगरेको छ ।’
सडक ओगटेर बनाएका पेटी हटाए मात्रै पनि एक मिटर सडक बढ्ने बताउँदै नगरप्रमुख पन्थीले अव्यवस्थित ढङ्गबाट मापदण्ड विपरित बनेका पेटीलाई हटाउन लागिएको उल्लेख गर्नुभयो । सदरमुकाम तम्घासबजार क्षेत्रभित्रको सडक ३० फिटको मापदण्ड रहेको छ । यहाँ केही दिनमै कालोपत्र काम अगाडि बढाउने नगरप्रमुख पन्थीको भनाइ छ ।
साँघुरो सडकका कारण हुने ट्राफिकजामलाई गम्भीरतापूर्वक हेरेर सडक सुधारको काम अगाडि बढाएको उहाँले बताउनुभयो । अव्यवस्थित रुपमा बनेका केही पेटी हटाउने र बजारलाई कालोपत्र गर्ने भन्दै उहाँले यसले बजारको सुन्दरतालाई बढाउने दावी गर्नुभयो ।
केही दिन पहिले रेसुंगा नगरपालिकाको तर्पmबाट प्राविधिकहरु आएर तम्घास बजारमा रहेका मापदण्ड विपरितका सडकपेटी हटाउन जानकारी गराएको बताउँदै नागरिकलाई विभिन्न सञ्चारमाध्यमबाट समेत मापदण्ड विपरितका नाली माथि बनाइएका सडकपेटी हटाउन सूचना जारी गरेको जानकारी दिनुभयो । त्यसैअनुसार काम अगाडि बढाएको नगरप्रमुख पन्थीको भनाइ छ ।