• १५ वैशाख २०८१, शनिबार

वाणिज्य बैङ्कहरूले फागुनमा साढे आठ अर्ब नाफा थपे

blog

काठमाडौँ, वैशाख ६ गते । चालु आर्थिक वर्ष २०७९/८० को फागुनमा मात्रै वाणिज्य बैङ्कहरूले साढे आठ अर्ब रुपियाँभन्दा बढी नाफा थपेका छन् । बैङ्कहरूले फागुनमा आठ अर्ब ५७ करोड ९० लाख रुपियाँ नाफा थपेका हुन् ।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्मा वाणिज्य बैङ्कहरूले करिब ४९ अर्ब रुपियाँ नाफा आर्जन गरेका छन् । विश्वका साथै नेपालको पनि अर्थतन्त्र असजिलो अवस्थादेखि विश्वकै प्रतिष्ठित बैङ्कहरू समस्याग्रस्त भइरहेका बेला यहाँका वाणिज्य बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन ।

मुलुककै अर्थतन्त्रमा मन्दी देखिएको, व्यापार व्यवसायमा कमी आएको अवस्थामा पनि नेपालमा सञ्चालित बैङ्कहरूको नाफामा भने सुधार देखिनुले अर्थतन्त्र सबलीकरणमा त्राण मिलेको छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार मर्जर र एक्विजिसनबाट वाणिज्य बैङ्क २७ बाट घटेर हाल सञ्चालनमा २१ वटा रहेका छन् । माघ महिनासम्म बैङ्कहरूको यस्तो नाफा ४० अर्ब २५ करोड रुपियाँ रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्ममा नबिल बैङ्क सर्वाधिक नाफा कमाउनेको सूचीमा अगाडि देखिएको छ । नबिलले सबैभन्दा धेरै अर्थात् पाँच अर्ब ३२ करोड रुपियाँ नाफा कमाएर नम्बर एक बनेको छ । यो फागुनमा पाँच अर्ब क्लबमा एक्लै उक्लेको नबिलले फागुन महिनामा मात्रै एक अर्ब १९ करोड रुपियाँ नाफा कमाएको छ ।

यता सरकारी स्वामित्वको कृषि विकास बैङ्क भने २१ वटै वाणिज्य बैङ्कमा सबैभन्दा कम नाफा आर्जन गर्नेमध्ये परेको छ । यो बैङ्कले फागुन महिनासम्म केवल ४१ करोड १० लाख रुपियाँ मात्रै नाफा आर्जन गरेको छ । यो बैङ्कले माघ महिनामा पनि १० करोड रुपियाँ मात्रै नाफा आर्जन गरेको थियो । फागुनमा मात्रै यो बैङ्कले ३१ करोड रुपियाँ नाफा आर्जन गरेको हो ।

नबिलपछि दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैङ्कले फागुन महिनासम्म चार अर्ब ३७ करोड रुपियाँ नाफा आर्जन गरेको छ । ग्लोबललाई पछ्याउँदै एनआईसी एसिया बैङ्कले चार अर्ब पाँच करोड रुपियाँ नाफा आर्जन गरेको छ । यसरी हेर्दा चार अर्बको बिन्दु नाघ्नेमा ग्लोबल आईएमई र एनआईसी एसिया बैङ्क परेका छन् । फागुन महिनामा ग्लोबलले ८१ करोड ८० लाख रुपियाँ नाफा आर्जन गरेको छ भने एनआईसी एसियाले ३७ करोड ९० लाख रुपियाँ नाफा आर्जन गरेको छ ।

यसैगरी तीन अर्बको बिन्दु नाघ्ने बैङ्कको सूचीमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क रहेका छन् । नेपाल इन्भेस्टमेन्ट बैङ्कले तीन अर्ब ४९ करोड रुपियाँ नाफा आर्जन गरेर चौथो स्थान सुरक्षित गरेको छ भने राष्ट्रिय वाणिज्य बैङ्कले तीन अर्ब ३६ करोड ८० लाख रुपियाँ नाफा आर्जन गरेर पाँचौँ स्थानमा रहेको छ । फागुनमा मात्रै नेपाल इन्भेस्टमेन्टले ७८ करोड ८० लाख रुपियाँ र राष्ट्रिय वाणिज्य बैङ्कले ३० करोड ३७ लाख ९० हजार रुपियाँ नाफा आर्जन गरेको छ ।

दुई अर्बभन्दा बढी र तीन अर्बमुनि नाफा आर्जन गर्नेको सूचीमा क्रमशः एनएमबी बैङ्क, प्राइम बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, एभरेस्ट बैङ्क, प्रभु बैङ्क, नेपाल बैङ्क र कुमारी बैङ्क रहेका छन् ।

एनएमबी बैङ्कले दुई अर्ब ६० करोड रुपियाँ नाफा आर्जन गरेर छैटौँ स्थानमा रहेको छ भने प्राइम बैङ्कले दुई अर्ब ३९ करोड रुपियाँ नाफा आर्जन गरेको छ । यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले दुई अर्ब २६ करोड रुपियाँ, एभरेस्ट बैङ्कले दुई अर्ब २३ करोड रुपियाँ, प्रभु बैङ्कले दुई अर्ब २२ करोड रुपियाँ, नेपाल बैङ्कले दुई अर्ब ११ करोड रुपियाँ र कुमारी बैङ्कले दुई अर्ब छ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।

यस्तै एक अर्बभन्दा बढी र दुई अर्बमुनि नाफा आर्जन गर्नेको सूचीमा क्रमशः सानिमा बैङ्क, हिमालयन बैङ्क, नेपाल एसबीआई बैङ्क, सिद्धार्थ बैङ्क, माछापुच्छे« बैङ्क, लक्ष्मी बैङ्क, सिटिजन्स र सनराइज बैङ्क रहेका छन् ।

सानिमा बैङ्कले एक अर्ब ७८ करोड ७० लाख रुपियाँ नाफा आर्जन गरेको छ भने हिमालयन बैङ्कले एक अर्ब ७८ करोड ४० लाख रुपियाँ नाफा आर्जन गरेको छ । नेपाल एसबीआई बैङ्कले एक अर्ब ६४ करोड ३० लाख रुपियाँ, सिद्धार्थ बैङ्कले एक अर्ब ५५ करोड ४० लाख रुपियाँ, माछापुच्छे« बैङ्कले एक अर्ब ४२ करोड ५० लाख रुपियाँ, लक्ष्मी बैङ्कले एक अर्ब ३६ लाख ४० हजार रुपियाँ, सिटिजन्स बैङ्कले एक अर्ब २५ करोड ९० लाख र सनराइज बैङ्कले एक अर्ब आठ करोड ८० लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।