कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ५ गते । बैशाख दास्रो साता बुटवलमा नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो अधिवेशन हुनेभएको छ । बैशाख १६ र १७ गते दुई दिन केन्द्रीय अधिवेसन हुने भएको हो । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफनो अगुवाईमा रक्तदान अभियानका स्वयंसेवीहरु जोडेर संस्था स्थापना गरेको बताउनुभयो । संस्थागत रुपमा उठाएका मुद्दाहरु सरकारबाट सम्बोधन गराउन सहज र सफल हुने उहाँको भनाइ छ ।
रुपन्देही शाखाको अध्यक्ष तथा अधिवेशन संयोजक कृष्ण चौहान क्षेत्रीले नमुना जिल्लाको पहिचान बनाएको रुपन्देहीमा केन्द्रीय अधिवेशनको तयारी भइरहेको बताउनुभयो । प्रत्येक शनिबार नियमित रक्तदान अभियानमार्फत १ सय २१ पटक आयोजना गरी २५ हजार युनिट रगत संकलन गर्न सफल भएको क्षेत्रीले बताउनुभयो ।
रक्तदाताबाट निःशुल्क रगतको बिरामीले मुल्य तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि अभियान चलाएर धेरै स्थानीय, प्रदेशमा सफल भएको उहाँकोे दाबी छ । संघीय सरकारबाट रगतको निःशुल्क गराउन दबाब दिनेगरी अभियान थाल्नुपर्ने भन्दै वार्षिक २५ करोड बजेट बिनियोजन गरे देशमै रगत निःशुल्क बनाउन सकिने बताउनुभयो ।
समाजको ३४ जिल्ला शाखा, नगरपालिका, गाउँपालिका, वडा ईकाई गरी ७७ वटा गठन भएर सेवामा जुटेको जनाएको छ । समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले आफनो परिवारको साथ सहयोयमा अहिलेसम्म १ सय १० पटक रक्तदान गरेको बताउनुभयो ।