काठमाडौँ, वैशाख ५ गते । उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस् अस्पताल, बाँसबारीका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडबाट पेसाकर्मी सरल कर्जा प्रवाह हुने भएको छ ।
पेसाकर्मी सरल कर्जा प्रवाह गर्नेसम्बन्धी रावा बैङ्क र अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार अस्पतालमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीले अस्पतालको सिफारिसमा अधिकतम १५ लाख रुपियाँसम्म कर्जा पाउने भएका हुन् ।
बैङ्कको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही पेसाकर्मी सरल कर्जा प्रवाह गरिने बैङ्कले जनाएको छ । बैङ्कले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जनाएको छ ।
हाल बैङ्कको आधार दर ८.६० प्रतिशत रहेको छ । सम्झौताअनुसार अस्पतालका कर्मचारीको तलबी खाता बैङ्कले सञ्चालन गर्नेछ । सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षितको उपस्थिति रहेको थियो । कार्यक्रममा बैङ्कका उपकार्यकारी अधिकृतहरू विमल डङ्गोल, पवन रेग्मी र विनयरमण पौडेल, विभागीय प्रमुखहरू आनन्द सुवेदी र अच्युत गौतम, प्रबन्धक सरोज कोइराला, अस्पतालका तर्फबाट प्रशासन प्रमुख विद्याकर अधिकारीलगायतका कर्मचारीको उपस्थिति थियो ।