गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश, जिल्ला, महानगर र उपमहानगर कमिटीले पार्टीभित्रको आर्थिक परिचालन तथा लेखा व्यवस्थापनको साझा प्रतिबद्धता जनाएका छन् । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न र एमालेलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा स्थापित गर्न आर्थिक काम र लेखा व्यवस्थापनलाई चुस्त, दुरुस्त, स्वच्छ, पारदर्शी, जवाफदेही र सुदृढ बनाउन २५ बुँदे सामूहिक प्रतिबद्धता गरेका हुन् ।
एमाले बागमती प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिकाबाट सहभागीले साझा प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । यो कार्यले पार्टी पङ्क्ति र आमजनताको विश्वास बढ्छ भन्ने कुरामा सहभागीहरू एकमत भएको उहाँले उल्लेख गर्नुभयो । ऋणमा रहेका पार्टीका कमिटीले ऋण रकम कमिटीबाट अनुमोदन गराउने र विशेष ऋण मोचन कार्ययोजना बनाई आर्थिक वर्षभित्र ऋणमुक्त हुने प्रतिबद्धता गरेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक परिचालन र लेखा व्यवस्थापनको काम पार्टीको साङ्गठनिक कामको महत्वपूर्ण पाटो भएकाले यसलाई व्यवस्थित, सुदृढ र पारदर्शी बनाउन सकेमा मात्र पार्टी कमिटीलाई सहजतापूर्वक सञ्चालन गर्न र समग्र नेतृत्व विकासमा सहयोग पुग्ने कुरामा सहभागीको एकमत थियो । सहभागीले पार्टीका सबै कमिटीका लेखा परीक्षणको काम सम्पन्न गरी पार्टीको दोस्रो विधान महाधिवेशन अघि नै अन्तिम लेखा परीक्षण सम्पन्न गराउने बताएका छन् । कमिटीको सम्पूर्ण आर्थिक कारोबार बैङ्कमार्फत गर्ने र नगद कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
अधिवेशन हुने वर्ष अधिवेशनमा र अरू वर्ष कमिटीको पूर्ण बैठकमा लेखा परीक्षकमार्फत अन्तिम लेखा परीक्षण प्रतिवेदन पेस गर्न लगाई अनुमोदन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । आउने आर्थिक वर्षदेखि कमिटीको आर्थिक कारोबार पार्टीको सफ्टवेयर प्रणाली प्रयोग गरी पूर्णत कम्प्युटरकृत गर्न लागि पूर्वतयारीका काम र आवश्यक स्रोतको व्यवस्था गरिने भएको छ । जिन्सीको लेखा व्यवस्थित राख्ने र सामान तथा सेवाको खरिद प्रक्रियालाई पारदर्शी बनाइने भएको छ । आम्दानी र खर्च प्रणालीलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाइने भएको छ । लेखा आयोगबाट जारी हुने नीति, नियम, विनियम तथा निर्देशनको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।