• ५ जेठ २०८१, शनिबार

बीस पालिकामा एउटा दमकल

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ३ गते । गत शनिबार साँझ सर्लाहीको सुदूरदक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–१, खैर्बामा भीषण आगलागी भयो। स्थानीय बासिन्दासहित प्रहरी चौकी खैर्बा र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरे तर बाल्टिनले पानी हालेको भरमा आगलागी नियन्त्रण हुन सकेन।

आगलागी नियन्त्रण गर्न ३० किलोमिटर टाढा पर्ने पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिकाबाट दमकल (वारुणयन्त्र) मगाउनुप¥यो। हरिवनदेखि दमकल पुग्दासम्म त्यहाँ दुईवटा घर पूर्णरूपमा जलिसकेका थिए भने केही घरमा आंशिक क्षति पुगिसकेको थियो। दमकल पुगेपछि मात्रै आगलागी नियन्त्रणमा आयो। 

आइतबार दिउँसो बसबरिया गाउँपालिका–४ मा आगलागी भएपछि हरिवन नगरपालिकाबाटै गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आयो। सोमबार दिउँसो पनि कविलासी नगरपालिका–९, सलेमपुरमा आगलागीबाट तीनवटा परालको टाल (कुन्यु) जलेर खरानी भएका थिए। सलेमपुरको आगलागी पनि हरिवन नगरपालिकाबाटै पुगेको दमकलको सहयोगमा नियन्त्रणमा आएको हो।

सर्लाहीमा यसरी दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। आगलागी नियन्त्रणका लागि भने जिल्लाभरमा अहिले हरिवन नगरपालिकासँग भएको एउटै दमकल छ। सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल बिग्रिएर मर्मतका लागि हेटौँडा पठाइएकाले जिल्लामा जहाँ आगलागी भए हरिवन नगरपालिकाको दमकल दौडाउनु परिरहेको हो। 

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले नगरपालिकाको आफ्नै खर्चमा जता पनि दमकल पठाउनुपर्दा खर्च धान्न मुस्किल परिरहेको गुनासो गर्नुभयो। “आगलागी भएर जनधनको क्षति हुन थालेपछि दमकल पठाउनुप¥यो तर दमकल दौडिँदाको खर्च र मर्मत सम्भारमा भने कसैले सहयोग गर्दैनन्,” उहाँले भन्नुभयो, “नगरपालिका एक्लैले दमकल सञ्चालनका लागि मात्रै वार्षिक ३० लाख रुपियाँ खर्च गर्नुपरिरहेको छ।”

नगरप्रमुख बुढाथोकीका अनुसार वार्षिक निश्चित रकम दिने सम्झौता गरी ईश्वरपुर र बागमती नगरपालिकाले दमकल सञ्चालनका लागि साझेदार बनेका छन्। अन्य १८ वटा पालिकामा दमकल पठाउँदा हुने सम्पूर्ण खर्च हरिवन नगरपालिका आफैले बेहोर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। 

सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले हेटौँडामा मर्मतका लागि पठाइएको दमकलको १५ लाख रुपियाँभन्दा बढी बिल उठेको जानकारी दिनुभयो। “एक पटक दमकल बिग्रिँदा यतिधेरै खर्च हुन्छ, १५ लाख रुपियाँ कुन स्रोतबाट तिर्ने भन्ने विषयमा नगरप्रमुखसँग छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “बिलको रकम तिरेर दमकल ल्याउने तयारी गर्दै छौँ।”

प्रमुख प्रशासकीय अधिकृत गौतमले एउटा नगरपालिकाले मात्रै सञ्चालन र मर्मत खर्च धानेर सबैतिर दमकल पठाउन असाध्य गाह्रो रहेको बताउनुभयो। दुई वर्षअघि जिल्ला विपत् व्यवस्थापन समितिको बैठकबाट नजिकका तीन÷चारवटा पालिका मिलेर भए पनि संयुक्त दमकल खरिद गर्ने निर्णय गरियो तर अहिलेसम्म सो निर्णय कार्यान्वयनका लागि कुनै पनि पालिकाले चासो देखाएका छैनन्। 

करोडौँ खर्च गरेर विलासी वस्तु खरिद गर्ने र संरचना निर्माण गर्ने पालिकाले अतिआवश्यक पर्ने दमकल खरिदमा भने बेवास्ता गर्दै आइरहेकामा आलोचना हुने गरेको छ। बरहथवा नगरपालिका–१०, कटानीका स्थानीय जगन्नाथ चौधरीले २० वटा स्थानीय तह रहेको सर्लाहीमा एउटामात्रै पालिकासँग दमकल हुनु दुःखद भएको बताउनुभयो। 

दमकल खरिद गर्नेतर्फ जनप्रतिनिधिले चासो नदिँदा आगलागीबाट जनधनको धेरै क्षति भइरहेको चौधरीले बताउनुभयो । “यहाँ त बाटोमा ग्राभेल हाल्ने, ढलान गर्ने जस्ता कामलाई मात्रै विकास ठानेर त्यहीँ पैसा खन्याउने काम भइरहेको देखिन्छ तर दमकलजस्तो अति आवश्यक साधन खरिदमा जनप्रतिनिधिको चासो देखिँदैन्,” उहाँले भन्नुभयो, “आगलागी हुँदा घण्टौँसम्म पनि दमकल नपुग्दा जनधनको धेरै क्षति भइरहेको छ। यस्तो गम्भीर विषयमा स्थानीय सरकार संवेदनशील बन्नुपर्छ।”