• ८ असार २०८२, आइतबार

उपल्लो मुस्ताङमा फस्टाउँदै स्याउ खेती

blog

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट स्याउको बिरुबा सरसफाइ गर्दै । तस्बिरः हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), असार ८ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं २ घमीगाउँमा साढे ९ सय रोपनीमा स्थानीयले स्याउ खेती गरेका छन् । 

आधा दशक अघिदेखि स्याउ खेतीमा आकर्षित घमीका कृषकले स्थानीय प्रजातिको स्याउ उत्पादन गरी अघिल्लो वर्ष करिब डेढ लाखको बिक्री गरेका थिए । करिब ४३ घरधुरीले सामूहिक तथा एकल लगानीमा परीक्षणका लागि लगाइएको स्याउ खेती सफल भएपछि अहिले स्थानीय कृषक उत्साहित छन् । 

हरेक बर्ष नयाँ बिरूवा विस्तार गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले बताउनुभयो । अध्यक्ष विष्ट भन्नुहुन्छ, ‘‘तल्लो मुस्ताङमा हुने फलफूल अब उपल्लो मुस्ताङमा उक्लिएको छ, हामीले कृषि खेतीलाई प्राथमिकता दिएर सहयोग गरेका छौं ।’’ गाउँपालिकाले स्थानीयलाई कृषि खेतीमा आकर्षित गर्न यन्त्र, उपकरणसहित विभिन्न अनुदानको सुविधा दिएको अध्यक्ष बिष्टको भनाइ छ । 

गाउँपालिकाको वडा नं २ सुर्खाङको ध्येगाउँका २६ घरधुरीले १२ सय रोपनीमा स्याउ खेती गरेका छन् । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि थामजुङमा बसाइ सरेको स्थानीयले अहिले स्याउ खेतीमा आकर्षित भएको वडा अध्यक्ष पासाङ गुरुङले बताउनुभयो । 

वडा अध्यक्ष गुरूङका अनुसार हरेक वर्ष नयाँ बिरुवा विस्तार भइरहेको छ । ध्येगाउँ समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा छ । थामजुङमा बसोबास गर्ने स्थानीय कृषि, पशुपालनका लागि ध्येगाउँमा जाने गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयो । दामोदर कुण्ड गाउँपालिकाको घमी, ध्ये बाहेक चराङमा स्थानीयले स्याउ खेती गरेका छन् । 


उपल्लो मुस्ताङमा ताङ्वे, याराघारा लगायतका क्षेत्रमा स्याउ खेती हुन थालेपछि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले लोघेकर दामोदरकुण्ड गाउँपालिका –२ को घमी गाउँमा स्याटलाइट कृषि फार्म स्थापनाको अन्तिम तयारी गरेको छ । केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले तल्लो मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिमा हुने स्याउ जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा समेत हुन थालेपछि दुई गाउँपालिकाका कृषकलाई लक्षित गरी ८ सय १ रोपनी जग्गा केन्द्रको नाममा ल्याएर शाखा स्थापना गर्न लागिएको बताउनुभयो । 


तल्लो मुस्ताङमा आवश्यक पर्ने हिउँ पर्न छाडेपछि उत्पादन घटेको छ । अघिल्लो वर्ष ९५ करोडको स्याउ निर्यात भएकोमा यस पटक उत्पादन कमी हुने प्रमुख आत्रेयले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको सबैभन्दा धेरै असर मुस्ताङमा देखिएको छ । बागवानीको मुस्ताङमा रहेका चारवटा ब्लकमा ३५ प्रजातिका स्याउको बिरुवा छ ।