कपिल ज्ञवाली
सिद्धार्थनगर, बैशाख २ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरू बोल्न नसकेको आरोप लगाउनुभएको छ । विदेशी शक्ति केन्द्रले नेपालमा हस्तक्षेप गर्दा पनि ठूला दलका नेताहरू मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको रक्तिम सांस्कृतिक अभियानको चौथौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले राजनीति गर्नेहरू निजी स्वार्थमा लाग्न नहुने उल्लेख गर्नुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका अध्यक्ष केसीले सत्ता र शक्तिमा बसेकाहरू आफूलाई ठूला दलका नेता भन्नेहरूले राजनीतिलाई उद्योग बनाएर देशलाई लुटेको दाबी गर्नुभयो ।
सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताउँदै राज्यले नै नेपालमा भएका उद्योग कलकारखाना बेचेकाले देशलाई चाहिने युवा जनशक्ति अहिले बाध्यताले विदेश पलायन हुनुपरेको बताउनुभयो ।
लोकतान्त्रिक गणतन्त्र ल्याउन लागेका दलहरूबाटै यो व्यवस्था खतरामा रहेको टिप्पणी गर्नुभयो । उहाँले साम्यवादी व्यवस्थामा पुग्ने राष्ट्रिय जनमोर्चाको बाटो अप्ठ्यारो रहेको उल्लेख गर्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताउनुभयो ।