• १९ फागुन २०८०, शनिबार

हिमाली क्षेत्रमा थपिँदै पोखरी

blog

सगरमाथा आधारशिविर क्षेत्रमा सन् २०१७ (बायाँ) र सन् २०२२ को आरोहण मौसममा देखिएको परिवर्तन झल्काउने तस्बिर । तस्बिर सौजन्य : अविरल राई

काठमाडौँ, वैशाख २ गते । हिमालका आधार शिविरआसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ। हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन्। 

सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन।

हिमाल र हिउँबारे अध्ययन गर्नुभएका प्राध्यापक डा. सुदीप ठकुरीले बढ्दो तापक्रमसँगै जलवायु परिवर्तनको असरले सगरमाथालगायतका हिमालबाट हिउँ रित्तिन थालेकाले पनि आधार शिविरमा पोखरी देखिन थालेको तर्क गर्नुभयो। उहाँले भन्नुभयो, “कतिपय खोँचमा पहिले ठूला हिउँका ढिक्का जमेर ढुङ्गा जस्तै भेटिन्थे तर अहिले ती खोँचमा पनि हिउँ पग्लेर बग्न थालेको देखिन्छ।”

उहाँसहितको टोलीले उच्च हिमाली क्षेत्रको तापक्रम नाप्ने स्टेसनको अध्ययन पाँच वर्षको अवधिमा गरेको छ। उहाँले जल तथा मौसम विज्ञान विभागमातहत उच्च हिमाली क्षेत्रमा स्थापना भएका झन्डै ९० वटा तापक्रम अनुगमन स्टेसनमार्फत सङ्कलन गरी हिमालको तापक्रमको अवस्था पत्ता लगाइएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येक १० वर्षमा हिमाली क्षेत्रको तापक्रम ०.३५ डिग्री सेल्सियसले बढेको अध्ययनबाट थाहा भयो।” सबै स्टेसनको अवस्था नियमित थिएन। ती कहिले बन्द हुने र कहिले चल्ने गरेको पाइएको थियो। यसैको परिणाम २०७८ सालमा मेलम्चीमा आएको आकस्मिक बाढी पनि हो। स्टेसनले राम्ररी काम नगर्दा र त्यसको तथ्य सङ्कलन र विश्लेषण प्रविधि गतिलो नहुँदा समस्या बढेको छ। तीमध्ये ३० वटा जति स्टेसनको तथ्याङ्क राम्रो पाइयो। जसमा सन् १९७५ देखि २०१५ सम्मको तथ्याङ्क निरन्तर सङ्कलन भएर बसेको थियो। 

अध्ययन न्यूनतम तापक्रम र अधिकतम तापक्रम दुवैको गरिएको हो। न्यूनतम तापक्रममा खासै फरक नदेखिए पनि अधिकतम तापक्रम अत्यधिक बढेको पाइएको छ। सो क्रममा समुद्री सतहदेखि एक हजार मिटर तल र त्योभन्दा माथिको तापक्रमको पनि तुलनात्मक अध्ययन गरिएको थियो। अनुसन्धानकर्ता डा. ठकुरीले जसले तराई भेगको भन्दा हिमाली भेगको तापक्रमको वृद्धिदर उच्चतम रहेको पाइएको बताउनुभयो। 

तापक्रम किन बढ्यो भन्ने कारक तत्त्वका बारेमा थप अध्ययन हुन बाँकी छ। उहाँले भन्नुभयो, “त्यसका लागि हिमाली क्षेत्रमा नै बसेर अध्ययन गर्न सकिने अध्ययन केन्द्रहरूको आवश्यकता पर्छ। नेपालमा यस्ता केन्द्र उपलब्ध छैनन्।” 

सगरमाथालगायतका क्षेत्रलाई विश्वको तापक्रम नाप्ने ब्यारोमिटरका माध्यमबाट अमेरिका, इटली, फ्रान्स, चीनलगायतका मुलुकले यस क्षेत्रमा अनेक अध्ययन गर्दै आएका छन्। इटलीका एक भूगर्भविद्को प्रयासमा सगरमाथा क्षेत्रमा स्थापना भएको पिरामिड ल्याब अहिले अलपत्र अवस्थामा छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले इटलीका ती विज्ञसँग सहकार्य गर्न पहल थाले पनि आवश्यक बजेट र नीतिको अभावमा काम अघि बढ्न सकेको छैन।

सगरमाथामा हुने परिवर्तन र त्यसको परिणामको अध्ययन नेपाल सरकारले नै गर्नुपर्ने भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन। विश्वव्यापी जलवायु सम्मेलनमा यस्तो पहलको घोषणा गरे पनि कार्यान्वयनमा सरकार चुकेको विज्ञहरूको भनाइ छ। 

पछिल्लो समय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तु तथा जैविक विविधता अध्ययनका लागि कञ्चनजङ्घा क्षेत्रमा हिमालयन रिसर्च सेन्टर स्थापनालाई कार्यान्वयनमा लैजाने प्रयास गरेको छ।