काठमाडौं, वैशाख १ गते। राजश्व संकलन र पुँजीगत खर्चको नाजुक अवस्था र अर्थतन्त्रका सूचकमा देखिएको दबाबबीच २०७९ साल सकिएको छ। कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, रुस युक्रेन युद्धको प्रभाव पनि नेपाली अर्थतन्त्रमा देखियो। विदेशी मुद्रा सञ्चितीमा देखिएको दबाबका कारण वर्षको सुरुदेखि नै नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा जाने हो कि भन्ने चिन्ता सबै क्षेत्रबाट रह्यो। नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो बाटोमा गइनसकेको अर्थविद्ले बताएका छन्। तर चुनौती भने विद्यमान छन्।
यस वर्ष अर्थतन्त्रको सन्दर्भमा धेरै घटना परिघटना सतहमा देखापरेका छन्। अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टकरावले लामो समय चर्चा पायो। संकलित राजश्वले चालु खर्चसमेत धान्न नसक्ने अवस्था यो वर्षमा देखिएको छ। सरकारी वित्त क्षेत्र नाजुक र चुनौतीका बीचमा गुज्रदा २०७९ सालले बिदा लिएको छ।
२०७९ सालमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको मनमुटाव सतहमा नै देखियो। तत्कालीन सरकारले गभर्नरलाई अयोग्य भन्दै निलम्बन नै गर्यो। तर, सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि महाप्रसाद अधिकारी काममा फर्किनुभयो। अर्थतन्त्रको वित्तीय नीति र मौद्रिक नीति निर्माण गर्ने बीचमै अर्थमन्त्री र गभर्नरबीच मनमुटाव हुँदा यसको प्रभाव पनि अर्थतन्त्रमा देखा परेको थियो।
राजश्वले चालु खर्च नधानेको वर्ष
सरकारले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजश्व संकलन ३१ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म लक्ष्यको ४७.५९ प्रतिशत मात्र संकलन भएको छ। सरकारले १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ खर्ब ६७ अर्ब ८२ करोड १९ लाख मात्र राजश्व संकलन भएको छ। तर चालू खर्च भने बढी छ। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म चालु खर्च ५९.२६ प्रतिशत रहेको छ। ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख मध्ये आजसम्म ७ खर्ब १ अर्ब १५ करोड १५ लाख खर्च भइसकेको छ। त्यसकारण संकलित राजश्वले चालु खर्चसमेत धान्न सक्ने स्थिति छैन।
साढे दुई खर्ब बजेट घटाइयो
२०७९ सालमा सरकारले वार्षिक बजेटमा साढे दुई अर्बले बजेट घटाएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ बजेट प्रस्तुत गर्नुभएको थियो। तर पछि अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार साढे २ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा सीमित गर्नुभएको हो। यसकारण यस वर्ष साढे २ अर्बको बजेट घटाइएको वर्षका रुपमा बितेको छ।
आयातमा १० वस्तु प्रतिबन्ध
विदेशी मुद्राको सञ्चितीमा परेको दबाबलाई कम गर्न सरकारले गत वैशाखमा १० वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो। आयात घटाएर विदेशी मुद्राको सञ्चिती बढाउनको लागि सरकारले यस्तो निर्णय गर्नुपरेको थियो। प्रतिबन्ध लगाइएका विस्तुमा मदिरा, मोटरसाइकल, टेलिभिजन, कार, जीप भ्यान र हिरा, कुरकुरे, कुरमुरे, सूर्ती वा सूर्तीजन्य पदार्थ, चुरोट रहेका थिए। अन्तर्राष्ट्रिय व्यापारलाई सधै प्रतिबन्ध गर्न नसक्ने भएपछि यी वस्तुलाई विस्तारै खुकुलो बनाउँदै लगिएको छ।
व्यापार घाटा १७.९ प्रतिशतले घट्यो
यो वर्ष चालू आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ। आठ महिनाको समीक्षा अवधिमा आयात घटेको छ। आयात १९.१ प्रतिशतले घट्दा निर्यात २९.१ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको आठ महिनामा निर्यात २९.१ प्रतिशतले कमी आएर १ खर्ब ४ अर्ब ८० करोड पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा निर्यात ८२.९ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकको निर्यात ६ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टीकल बोर्ड (काठ), ऊनी, गलैँचा, चियालगायतका वस्तुको निर्यात बढेको छ। सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका समान तथा गरगहनालगायत वस्तुको निर्यात घटेको छ।