प्रकाशविक्रम शाह
धनगढी , वैशाख १ गते । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आपसी मतभेद अन्त्य गर्न र एकता मजबूद बनाउन आज धनगढीमा आफ्ना नेता तथा कार्यकर्तालाई सिस्नो लाउने भएको छ ।
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व विसुका अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको प्रदेश सचिव धर्मराज पाठकले बताउनुभयो ।
विसु पर्वमा सिस्नो लगाएर मनमुटाव हटाउन चलन सुदूरपश्चिममा रहेको छ । सो कार्यक्रममा प्रदेशका अगुवा नेता कार्यकर्ताको सहभागिता रहने भएको छ ।
एमालेका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टले केही दिन अघि एक कार्यक्रममा कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याउन आग्रह गरिसक्नु भएको छ । सो अवसरमा विसु पर्व तथा नयाँ वर्षका शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको छ ।