बुटवल समाचारदाता
बुटवल, असार ८ गते । बुटवल उपमहानगरपालिकाले घुमौँ बुटवल अभियान अन्तर्गत आगामी वर्ष बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने लक्ष्य राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बिहीबार बुटवलको १७ औँ नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्ने उल्लेख छ ।
नीति तथा कार्यक्रममा बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रेसुङ्गा, पाल्पा, चितवन, त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको भैरवस्थान, रानीमहल, आलमदेवी, सेतीवेणी जस्ता पर्यटकीय स्थलसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणीय पर्यटन प्रवर्धनका लागि आवश्यक अभियान सञ्चालन गरिने उल्लेख छ ।
बुटवलका महत्वपूर्ण पर्यटकीय स्थलहरू जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिसपार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, नीलकण्ठ बाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, थारू सङ्ग्रहालय, भैरवपार्क, पाणिनीपार्क, लक्ष्मीपार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
नीति तथा कार्यक्रममा बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कका रूपमा स्थापित गर्ने उल्लेख छ । त्यसै गरी नगरप्रमुख पाण्डेयले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने उल्लेख छ ।
बुटवलका पर्यटकीय स्थलहरूको वृत्तचित्र निर्माण गरिने, टुर गाइड उत्पादन गर्ने, सम्पदा सूची तयार गर्ने, स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने लगायतका कुरा नीति कार्यक्रममा समेटिएको छ ।
बुटवलका गृहिणी महिलालाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेलीघर) स्थापनामा जोड दिइने नीति तथा कार्यक्रममा छ । गृहिणी महिलालाई एकजुट बनाई सिप र व्यवसायका माध्यमबाट आर्थिक उपार्जनमा अगुवाइ गर्ने नीति लिइने छ । बुटवलको योगीकुटीदेखि चिडियाखोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबास–बेथरी सडक, तामनगर–शुद्धोधन सडकलाई उज्यालो र हरियाली सडकका रूपमा सौन्दर्यीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘शिक्षामा सबल, बुटवल अब्बल’, ‘छोरी पढाऔँ, समाज बनाऔँ’ लगायत नारालाई आत्मसात् गर्दै नगरप्रमुख शैक्षिक सुधार कोषमार्फत विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराइने भएको छ । फरक क्षमता भएका तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षमता अभिवृद्धि गर्न सिप विकास तालिम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसै गरी बा आमासँग नगरप्रमुख कार्यक्रम, स्वस्थ शरीर, स्वस्थ मन अभियान सञ्चालन गरिने उल्लेख छ । चोक चौतारामा मेयर कार्यक्रम, मञ्चमा दुई जनाभन्दा कमलाई मात्र आसन ग्रहण गर्दा माला हटाऔँ, सामाजिक विकृति हटाऔँ, तडकभडक घटाऔँ, बुटवलका किसान, हाम्रो सान जस्ता नारालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।