भवानीदत्त भट्ट
सुदूरपश्चिम प्रदेशसहित विभिन्न क्षेत्रमा योग साधना प्रभावकारी बन्दै गएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले छुट्टै योग परार्मश केन्द्र स्थापना गरेर योग साधनालाई नियमित गरेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका आयुर्वेदिक औषधालयमा योग शिक्षा लागु गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिन्टेन्डेन्ट रामकामेश्वर ठाकुरले बताउनुभयो । मानसिक तनाव, मुटुको समस्या, ढाड कम्मरसम्बन्धी समस्या, उच्च रक्तचापलगायत सर्ने नसर्ने रोगका बिरामीले योग साधनाबाट स्वास्थ्य लाभ लिने गरेका छन् ।
चालु आर्थिक वर्षमा आठ हजारभन्दा बढीले योग परार्मश केन्द्रबाट लाभ लिनुभएको प्रादेशिक आयुर्वेद चिकित्सालयका योग गुरु खगेन्द्र जोशीले बताउनुभयो । पछिल्लो समय जटिलभन्दा जटिल प्रकृतिका बिरामीसमेत योगाभ्यासबाट पूर्ण रूपमा निको हुँदै गएका छन् । कञ्चनपुरमा योग शिक्षालाई थप प्रभावकारी बनाउन प्रदेश र स्थानीय सरकारले बजेट नै छुट्याएर कार्यव्रक्रम सञ्चालन गर्दै आएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाठ्यक्रम निर्माण गरेर अनिवार्य रूपमा योग शिक्षा लागु गरेको छ भने दार्चुलाको मालिकार्जुन गाउँपालिकाले समग्र गाउँपालिकालाई योगमय गाउँपालिका घोषणा गरेको छ । योग गरेर कतिपय जटिल अवस्थाका बिरामीसमेत पूर्ण रूपमा निको भएर अहिले स्वस्थकर जीवन बिताइरहनुभएको छ ।
दमरोगी थापा योग शिविर चलाउँदै
झन्डै २० वर्षपहिले दमको रोगबाट पीडित पाल्पाको रितकोटका कमला थापा अहिले पुनर्जन्म पाएको अनुभव सुनाउनुहुन्छ । सन् २००६ देखि थापामा दम देखिन सुरु भयो । उपचारका लागि उहाँ भारतसहित विभिन्न अस्पतालमा धाउनुभयो । दमबाट ग्रस्त हुँदै गएपछि आफूले आठ वर्ष नियमित अस्पताल धाएको उहाँले बताउनुभयो । आठ वर्षको अवधिमा थापाले छ लाखभन्दा बढी रकम औषधी उपचारमा खर्च भएको बताउनुभयो तर त्यो अवधिमा उहाँ शारीरिक रूपले पूर्ण रूपमा अशक्त हुनुभएको थियो ।
उहाँले भन्नुभयो, न त हिँडडुल गर्न सक्ने न त खाना खान सक्थेँ । घरमा छोरीले लुगाकपडा धोइदिने, परिवारले खाना खुवाइने गर्नुहुन्थ्यो, जिउने आशा एक प्रतिशत पनि थिएन । सन् २०१४ जुलाईमा आफूले एउटा टेलिभिजनमार्फत योगसम्बन्धी कार्यक्रम सुनेपछि त्यसतर्फ आकर्षित भएको अनुभव उहाँले सुनाउनुभयो । बिहान ५ बजे उठेर कमलाले टेलिभिजन हेर्दै योगा गर्न थाल्नुभयो । टेलिभिजन हेरेर प्राणायाम, कपाल भातीलगायतका अभ्यास उहाँले थाल्नुभयो ।
लगातार छ महिना योगाभ्यास गरेपछि उहाँले शरीरमा २५ प्रतिशत सन्चो महसुस गरेको अनुभव सुनाउनुभयो । त्यसपछि दुई वर्षको समयमा उहाँले सम्पूर्ण योगाभ्यासबाट पूर्ण रूपमा नयाँ जीवन पाएको अनुभव सुनाउनुभयो । टेलिभिजन र कञ्चनपुर आएर योगा सिक्नु भएकी ५३ वर्षीय थापाले हाल स्थानीय सरकारको सहयोगमा योग शिविर सञ्चालन गरिरहनुभएको छ । उहाँले योगाबाट थुप्रै जटिल बिरामीलाई मुक्ति दिलाउन सफल भएको बताउनुभयो । योगा नै सबै रोगको मुक्तिको मार्ग भएको सुनाउँदै उहाँले सबैमा योगा गर्न आग्रह पनि गर्नुभएको छ ।
मिर्गौलाको रोग निको
दार्चुलाको नौगाड गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमसिंह धामी योगाभ्यासबाट अहिले स्वस्थ हुनुभएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि जीवनमरणको सँघारमा पुग्नुभएका धामीले योग गरेपछि भने हाल पूर्ण रूपमा निको हुनुभएको बताउनुभयो । २०७४ साउनमा दुवै मिर्गौलामा खराबी देखिएपछि धामी काठमाडौँस्थित ग्रान्डी हस्पिटलमा उपचारका लागि तीन महिना बस्नुभयो । सो अवधिमा ५० औँ पटक उहाँले डायलासिस पनि गराउनुभयो तर मिर्गौलाको समस्या निको नहुने भएपछि जीवनमरणको सँघारमा पुग्नुभएका धामीले योगको विषयमा बुझेपछि योगाभ्यास थालेको बताउनुभयो । करिब तीन वर्ष योग गर्दै जाँदा उहाँ मिर्गौला समस्याबाट मुक्त हुँदै जानुभयो । उहाँले हाल पनि योग गरिरहनुभएको छ ।
“स्वास्थ्यमा जटिल समस्या आएपछि जीवनबाट हार खाएको महसुस हुने गरेको थियो,” धामीले भन्नुभयो, ‘योगा सुरु गरेपछि अहिले कुनै प्रकारको पनि औषधी सेवन गर्न छोडेको छु ।” योगाबाट स्वस्थ हुँदै गएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा उहाँले विभिन्न स्थानमा पाँच पटक योग शिविर पनि सञ्चालन गरिएको बताउनुभयो । अहिले योगाभ्यास गर्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट मुक्त हुँदै गएको उहाँले बताउनुभयो ।
योगले नयाँ जीवन पाउनुभएकी कलावती
माइग्रेनलगायत थुप्रै स्वास्थ्य समस्याबाट गुज्रिनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारीका कलावती भट्ट अहिले पूर्ण रूपमा स्वस्थकर जीवन बिताइरहनुभएको छ । २०७७ सालदेखि टाउकोसम्बन्धी समस्याले ग्रसित हुनुभएका भट्टले डेढ वर्ष भारतमा मासिक रूपमा औषधी सेवन गर्नुभयो तर औषधी छोडनेबितिक्कै पुनः टाउकोसम्बन्धी समस्या निको नभएपछि उहाँ घरपरिवारमा पनि कसैले बोले छिटो रिसाउने, रातमा निद्रा नलाग्ने, एकान्तमा बस्ने गरेको समस्याबाट गुज्रेको सुनाउनुभयो ।
योग गरेर जटिल रोगबाट छुटकारा पाउनुभएका कमला थापा ।
औषधीमा मात्रै एक लाख ८० हजार खर्च भइसक्दासमेत सन्चो नभएपछि उहाँ दैनिक जसो निराश रहने गरेको सुनाउनुहुन्छ तर २०७९ कात्तिक महिनामा एफएमबाट बृहत् योग शिविरका विषयमा सूचना पाएपछि उहाँले झलारीमा योगाभ्यास सुरु गर्नुभयो । योग गरेको तीन महिनामै उहाँलाई सुधार भएको महसुस भयो ।
“योगाले मेरा लागि नयाँ जीवन फर्काएको छ,” उहाँले भन्नुभयो, “अहिले औषधी सेवन गर्न पनि छोडेकी छु ।” आफू पूर्ण रूपमा सन्चो भएपछि कलावतीले अहिले झलारीमा योगाभ्यास प्रशिक्षण पनि गराइरहनुभएको छ । उहाँ योग प्रशिक्षक पनि हुनुहुन्छ । दैनिक योगबाट झलारीमा अहिले धेरै मानिस विभिन्न स्वास्थ्य समस्याबाट मुक्त भएर स्वस्थकर जीवनयापन गरिरहेको उहाँ बताउनुहुन्छ ।
ढाडको दुखाइबाट मुक्त बलबहादुर
जीवनको ५५ वर्षको उमेरमा ढाडको तल्लो भाग दुख्ने समस्याले पीडित हुनुभएका नेपालगन्ज उपमहानगरपालिका–१८, कर्कटा चोकका ७० वर्षीय बलबहादुर केसी अहिले तन्दुरुस्त जीवन बिताउँदै आउनुभएको छ । २०७७ मा ढाड दुख्ने समस्यालाई लिएर उहाँ भारतको लखनउस्थित पिडिआई अस्पतालमा भर्ना हुनुभयो । त्यहाँ अपरेसन गर्नुपर्ने चिकित्सकले बताएपछि उहाँले तत्काल अपरेसन गर्न सकिने अवस्था नरहेको भन्दै औषधी सेवन गर्नुभयो । लखनउमा सन्चो नभएपछि केसी काठमाडौँस्थित कैलाश आयुर्वेदिक चिकित्सालयमा तीन महिना भर्ना हुनुभयो । त्यहाँ थेरापी गरिएको तर जीवनभर थेरापी गर्नुपर्ने चिकित्सकले सुनाएपछि केही समयका लागि उहाँ नेपालगन्ज फर्किनुभयो ।
बलबहादुर केसी ।
औषधी उपचारमा दुई लाखभन्दा बढी खर्च गर्नुभएका उहाँले जीवनभर औषधीको सहारा लिनुपर्ने भनी आफू चिन्तित भएको सुनाउनुभयो । २०७९ कात्तिक महिनामा नेपालगन्जस्थित पतञ्जलि योग साधना केन्द्रमा मीना केसीबाट योगसम्बन्धी जानकारी पाएपछि त्यहाँ योग गर्न सुरु गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गुरुले मर्कट आसन गर्न भन्नुहुन्थ्यो तर शारीरिक अस्वस्थताले सुतेर मात्रै गर्न सक्थे ।” “दुई महिना योग गरेर १० मिनेट बस्न सक्ने भएँ, छ महिना योग गरेर दुई घण्टा बस्न सक्ने भए, अहिले पूर्ण रूपमा सन्चो भएको छु ।” उमेरको ७० वर्षमा प्रवेश गर्नुभएका केसी अहिले तन्दुरुस्त हुनुहुन्छ । उहाँ मजाले हिँडडुल गर्ने, व्यायाम गर्ने, घरायसी कामकाज गर्न सक्ने भएको सुनाउनुहुन्छ । विगत केही महिनायता स्थानीय सरकारको आर्थिक सहयोगमा उहाँले योग शिविर पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले झन्डै दुई सय जनालाई योग प्रशिक्षण पनि गराएको बताउनुभयो ।
योग गुरु लवराज भट्ट
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का योग गुरु लवराज भट्ट विगत दुई दशकयता योग प्रशिक्षण दिइरहनुभएको छ । भट्टले नेपालसहित भारतमा पनि योगका कार्यक्रम सञ्चालन गर्नुभएको छ । उहाँले नेपालका उच्च पदस्थ नेता, कार्यकर्ता र आमनागरिकलाई उहाँले योगाभ्यास गराउनु भएको छ ।
योग गुरु लवराज भट्ट ।
सन् २०२४ जुन २१ मा अन्तर्राष्ट्रिय योग शिविरको अवसरमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य नेता कार्यकर्ता शिविरमा सहभागी हुनुभएको थियो । सोही अवसरमा एमाले अध्यक्ष ओलीलाई योग शिक्षा नेपालमा अनिवार्य रहेको र लागु गर्नसमेत आग्रह गर्नुभएको थियो । विगत दुई दशकदेखि योगाभ्यास गराउँदै आउनुभएका योग गुरु भट्टले निरोगी मानिसले योग गर्नुपर्ने बताउनुहुन्छ ।
रोग लाग्नेबित्तिकै योगा सुरु गरेमा रोग चाँडो निको हुने र लथालिङ्ग अवस्थामा योग सुरु गरे केही ढिलो समयमा रोग निको हुने उहाँले बताउनुभयो । दुई दशकको अवधिमा उहाँले पाँचभन्दा सय बढी योग शिविर सञ्चालन गरिसक्नुभएको छ । सो अवधिमा सयौँ मानिस रोगमुक्त भएर सुखी जीवनयापन गरिरहनुभएको उहाँ सम्झनुहुन्छ ।