• ८ असार २०८२, आइतबार

जनप्रतिनिधि बिष्टको व्यावसायिक कृषिमा उदाहरणीय सफलता

blog

आफनै करेसा बारिमा रमाउदै बैतडीको सूर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट । तस्बिर : केशब राज भट्ट

केशब राज भट्ट
बाशुलिङ्ग (बैतडी), असार ८ गते । 
बैतडीको सूर्नया गाउँपालिका–२ का वडाध्यक्ष गणेशबहादुर बिष्ट जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यवसायिक कृषिमा समेत उदाहरणीय काम गरिरहनुभएको छ । दशरथचन्द राजमार्गको सतबाज–सिउडे सडक किनारमै घरभएका उहाँले आफ्नो गाउँ ग्वानीमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल खेती र कुखुरापालन गरेर सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

वडाध्यक्ष बिष्टले रोजगारका लागि खाडी मुलुक पुगेपछि त्यहाँको अनुभवका आधारमा २०६४ सालमा स्वदेश फर्केर कृषि व्यवसाय थाल्नुभएको हो । सुरुमा एक सय वटा कुखुराका चल्लाबाट व्यवसाय थालेका बिष्टले अहिले मासिक १० हजार कुखुराका चल्ला उत्पादन तथा बिक्री गर्दै आउनुभएको छ ।

करिब ७० रोपनी क्षेत्रफलमा तरकारी र फलफूल खेती गरिरहनुभएका उहाँले वार्षिक ५० लाख रुपियाँसम्म कारोबार गर्दै आउनुभएको जानकारी दिनुभयो । ‘‘विदेशमा गरेको दुःख सम्झेर गाउँमै केही गर्ने सोच बनाएँ, अहिले कृषिमा रमाएको छु,’’ वडाध्यक्ष बिष्टले भन्नुभयो ।

उहाँले आफू मात्र नभई गाउँका अन्य युवाहरुलाई पनि व्यवसायमा जोडेर प्रेरित गरिरहनुभएको छ । दुई सय कुखुराका चल्ला उधारोमा लिएर व्यवसाय सुरु गरेका दार्चुलाका प्रकाश चन्दले मासिक एक लाख २० हजार रुपियाँसम्म आम्दानी गरिरहनुभएको छ । यस्तै, सूर्नया–२ का नवीन चन्दले पनि वडाध्यक्ष बिष्टबाट उधारोमा चल्ला र दाना लिएर व्यवसाय सुरु गर्नुभएको थियो ।

वडाध्यक्ष बिष्टले गाउँमै पाँच जनालाई रोजगारी दिनुका साथै कुखुरापालन र तरकारी खेतीको सल्लाह–सहयोग गर्दै आउनुभएको छ । ‘‘वडाध्यक्ष निर्वाचित भएपछि जनताको सेवा र कृषि व्यवसाय दुवै सँगसँगै अघि बढाइरहेको छु,’’ उहाँले बताउनुभयो ।

अहिले ग्वानी गाउँका अधिकांश बासिन्दा वडाध्यक्ष बिष्टको सिको गर्दै व्यवसायिक कृषिमा सक्रिय छन् । सो क्षेत्रमा उत्पादित कृषि उपज पाटन, सतबाँज, सिउडे, मुस्याचोर, देहिमाडौँ र जिल्ला सदरमुकाम गोठलापानीसम्म बिक्री हुने गरेको छ ।