उर्लाबारी समाचारदाता
उर्लाबारी, असार ८ गते । विश्व बैङ्कको सहयोगमा निर्माणाधीन उर्लाबारीको ५.२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम निर्धारित समयभित्रै सकिने भएको छ ।
करिब तीन महिना काम रोकिएपछि निर्धारित समयमा काम नसकिएला भन्ने चिन्ता थियो तर निर्माण कम्पनीले असार मसान्तभित्र काम सक्ने गरी जनशक्ति थपेर धमाधम काम गरिरहेको नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले बताउनुभयो । नगरप्रमुख खरेलका अनुसार हालसम्म सडक निर्माणको ८७ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति भएको छ । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिफल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो, सिफलले काम गरेन । सिफलले उर्लाबारीका स्थानीय निर्माण व्यावसायी अर्जुन तुम्रोकलाई निर्माणको जिम्मा दिएको थियो तर तुम्रोकले गरेको कामको भुक्तानी सिफलले नदिएपछि नगरपालिकाले मुख्य निर्माण कम्पनीको बैङ्क ग्यारेन्टी (धरौटी) बापतको साढे चार करोड रुपियाँ तानेको थियो । बैङ्क धरौटी नगरपालिकाले तानेपछि सिफल र तुम्रोकबिच काम गर्ने सहमति भएको थियो ।
२०८२ को असार मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौता छ । सम्झौता अनुसारको म्याद सकिन एक महिनाभन्दा कम समय रहे पनि निर्धारित मितिमा नै काम सक्ने तुम्रोक कन्स्ट्रक्सनका सञ्चालक अर्जुन तुम्रोकले बताउनुभयो । उहाँले ९० प्रतिशत काम सम्पन्न भएको अवस्थामा म्याद थपसम्बन्धी कुनै कानुनी जटिलता नहुने बताउनुभयो । मुख्य भौतिक काम सकिन्छ । सौन्दर्यीकरण र सडक विद्युत्को काम बाँकी रहे व्रmमागत रूपमा गर्न सकिने उहाँको भनाइ छ । २०८० को असोज ८ गते शिलान्यास भएको सडकले पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–३ को कृष्णचोकसँग उर्लाबारी–२ को सुनझोडालाई जोड्ने छ । ३६ करोड १२ लाख ४३ हजार ६१६ रुपियाँमा निर्माण भइरहेको यो सडकको चौडाइ ५.५ मिटरदेखि अधिकतम सात मिटरसम्म रहेको छ । सडकमा साइकल लेन दुवैतर्फ १.२ मिटर, नाला र फुटपाथ १.८ मिटर, टिक ड्रेन ०.२५ मिटर रहेको छ ।
उर्लाबारी नगरपालिकाको गौरवको आयोजनाका रूपमा लिएको यो सडकमा ५० वाटका ५२६ वटा सडक बत्ती २०/२० मिटरमा राखिने छ । यसका लागि पोल गाड्ने काम सकिएको छ । १०/१० मिटरमा वृक्षरोपण गर्ने, जेब्राव्रmसिङ राख्नेलगायतका सडक सौन्दर्यको काम भने हालसम्म सुरु भएको छैन ।
उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले चालु आव यो आयोजना सम्पन्न भएपछि आव २०८१/८२ मा नगरमा १५ किलोमिटर कालोपत्रे सडक थपिने बताउनुभयो ।