• ८ असार २०८२, आइतबार

अजयमेरुकोटको पुनर्निर्माण

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असार ८ गते । डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोटको पुनर्निर्माणको काम सुरु गरिएको छ । दरबारकै नामबाट स्थापित अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा अजयमेरुकोट–२ मा रहेको दरबारको पुनर्निर्माणको काम सुरु गरिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९० लाख रुपियाँ विनियोजन गरेपछि गत फागुन महिनामा पुरातत्व विभागले अजयमेरुकोट खण्डका रूपमा रहेको दरबारको उत्खनन गरेको थियो । उत्खननमा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम गरिने गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दरबारको जगसम्मै उत्खनन गरेर पुनर्निर्माण गरिन लागेको छ । यसका लागि दक्ष कालिगड भक्तपुरबाट आउनुभएको छ । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाइ भएका पर्खाल निर्माण गरिने छन् । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन गर्दा भेटिएका संरचना अनुसार निर्माण गरिने उहाँले बताउनुभयो । 

उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुन सक्ने देखिएको थियो । बिचमा गल्ली, एकातिर तीन र अर्काेतिर चार कोठा गरेर भुइँतलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुईतले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुन सक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरेर १० वटा ढुङ्गे संरचना भएको भेटिएका थिए । 

डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको उत्खननका समयमा पुरातìव विभागका प्रमुख पुरातìव अधिकृत एवं पुरातìवविद् भाष्कर ज्ञवालीले बताउनुभयो ।