• १२ असोज २०८१, शनिबार

रियल म्याड्रिड र एसी मिलान विजयी

blog

गोल गरेपछि खुसी मनाउँदै रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत ३० गते । स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन टोली एसी मिलानले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनल खेलको पहिलो लेगमा जित निकालेका छन् ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले १० खेलाडीमा समेटिएको चेल्सीलाई २–० गोलले हरायो । अर्को खेलमा एसी मिलानले सिरी ‘ए’ प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हरायो । 


घरेलु मैदानमा रियलको जिताउन कप्तान करिम बेन्जेमा र मार्को असेन्सियोले गोल गर्नुभयो । बेन्जेमाले २१औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो ।

त्यसपछि चेल्सी ५९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । चेल्सीका बेच चिलवेल रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो । ७४औं मिनेटमा असेन्सियोले गोल गर्दै रियललाई सजिलै जिताउनुभयो ।

उहाँ तीन मिनेट अघि रोड्रिगोको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । जितसँगै रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग अप्रिल १८ तारिख हुनेछ । 

यसैगरी अर्को खेलमा एसी मिलानलाई जिताउन इस्माइल बेनासेरले निर्णायक गोल गर्नुभयो । उहाँले ४०औं मिनेटमा राफयल लियोको पासमा गरेको गोल निर्णायक बनेको थियो । मिलानलाई दबाब दिएपनि नापोलीको गोल फर्काउने प्रयास सफल हुन सकेन ।


नापोली अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा आन्द्रे फ्रान्क जाम्बो एनगुइसा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि नापोली खेलमा फर्कन सकेन । जितले मिलानको सेमिफाइनल पुग्ने सम्भावना बढाएको छ । एजेन्सी