• १६ चैत २०८०, शुक्रबार

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि बृहत् राष्ट्रिय विमर्श गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं, चैत २८ गते। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको सङ्कट समाधानको लागि बृहत् राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। 

मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रस्ताव राख्नुभएको हो। उहाँले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताउनुभयो।

उहाँले सरकार, राष्ट्र बैङ्क, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरेर अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताउनुभयो। 

उहाँले मुलुकको अर्थतन्त्र सङ्कटको डिलमा रहेको भन्दै सबै सरोकारले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताउनुभयो। उहाँले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। 

उहाँले नेपाल राष्ट्र बैङ्कले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने बताउनुभयो। उहाँले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।