• १० मंसिर २०८१, सोमबार

शिवपुरी नागार्जुनको पदयात्रा

blog

पछिल्लो समय सङ्घीय राजधानी काठमाडौँको उत्तरी किनारतिर रहेको नागार्जुन पर्वत धेरै पदयात्रीको आकर्षणको केन्द्र बन्न पुगेको छ । अहिले धेरैजसो मानिस भ्रमण, चरा अवलोकन र जिप सफारीका लागि त्यहाँ पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एउटा खण्डका रूपमा चिनिएको १५ वर्ग किमि क्षेत्रफलमा फैलिएको नागार्जुन पर्वतलाई धार्मिक, सांस्कृतिक, पौराणिक, जैविक, पर्यटकीय आदि दृष्टिले ज्यादै उत्कृष्ट गन्तव्यका रूपमा लिन सकिन्छ । 

नागार्जुन पर्वत क्षेत्र वरपर बालाजु बाइसधारा, जामाच्वो, पुरानो गुह्येश्वरी, नागार्जुन महादेव, इचङ्गुनारायण, ऐनडाँडा, मुडिखुगढी, ओशो तपोवन, शान्तिगुफा, महाँकाल, पचली भैरवजस्ता महìवपूर्ण मठमन्दिर र सम्पदा रहेका छन् । त्यस्तै विभिन्न गुफा, झरना, शिलालेख, बगैँचा, दरबार, भ्युटावर आदि रहेको नागार्जुन पर्वत खण्ड जैविक विविधताले भरिपूर्ण राजधानीस्थित उत्कृष्ट पर्यटकीय गन्तव्य हो । त्यहाँ प्रवेश गर्न पूर्वमा बालाजु ढोका अर्थात् फूलबारी गेट, उत्तरमा मुड्खु ढोका, उत्तरपश्चिममा धादिङ छत्रेदेउरालीको स्वानागाउँ ढोका र दक्षिणमा इचङ्गुको रानीवन ढोका रहेका छन् । 

अमेरिकाको यल्लोस्टोन नेसनल पार्क स्थापना हुनुभन्दा तीन वर्षअगाडि अर्थात् विक्रम संवत् १९२६ वैशाख ८ गते राजा सुरेन्द्र शाहको पालामा वन पैदावार र वन्यजन्तु संरक्षणका लागि बनेको ऐन–नियमको लिखित दस्ताबेज शिलालेखका रूपमा अङ्कित भएको प्रमाण यस पर्वत खण्डको ऐनडाँडामा हाल पनि देख्न सकिन्छ । यसले हाम्रा पूर्वजकोे वनजङ्गल, वन्यजन्तु, जैविक विविधता र वातावरण संरक्षणमा रहेको दूरगामी सोचलाई सहजै प्रस्ट पार्दछ । त्यस प्रकारका शिलालेख त्यतिबेला नागार्जुन पर्वत खण्डको चारै दिशामा राख्न लगाइएको देखिन्छ ।

 वि.सं. २०५८ फागुन ६ गते नेपाल सरकारले शिवपुरी राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि वि.सं. २०६५ फागुन १२ गते नागार्जुन क्षेत्रलाई पनि थप गरेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामकरण गरियो । १४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शिवपुरी क्षेत्र र १५ किलोमिटर क्षेत्रफलमा फैलिएको नागार्जुन क्षेत्र गरी दुई खण्डमा विभाजित यस निकुञ्जको नागार्जुन खण्डलाई जितपुर गोलढुङ्गा मध्यवर्ती क्षेत्रले जोडेको छ । काठमाडौँ उपत्यकाका बासिन्दालाई स्वच्छ र सफा खानेपानी आपूर्ति गर्दै रुख–बिरुवाहरूको माध्यमबाट वायु प्रदूषणलाई न्यूनीकरण गरी काठमाडौँ र वरपरको बस्तीमा वातावरणीय स्वच्छता कायम गरी तल्लो तटीय क्षेत्रलाई मरुभूमीकरण हुनबाट जोगाउनसमेत मध्यवर्ती क्षेत्रले महìवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रूपमा लोकप्रिय यस पर्वतको जामाच्वो स्तूपमा चीन, तिब्बत, भारत, श्रीलङ्का, थाइल्यान्डका बौद्धमार्गीहरू पूजाअर्चना र ध्यान गर्न आउने गरेका छन् । सात हजार फिट उचाइमा रहेको यस तीर्थको उत्पत्ति र नामकरण सम्बन्धमा स्वयम्भू पुराणमा पनि उल्लेख भएको पाइन्छ । प्रारम्भमा काठमाडौँ उपत्यका एउटा विशाल तलाउ भएको बेला विपश्वी बुद्धले नागार्जुनको जुन ठाउँमा आएर तपस्या गरे, त्यो ठाउँ नै जामाच्वो हो । जुन ठाउँलाई बौद्ध धर्मअनुसार ‘जातमात्रोच्व’ भनिन्छ ।

जातमात्रोच्वलाई नेवारी भाषामा ‘विन्द्यापर्वत’ भनिन्छ । यहाँ बसेर विपश्वी बुद्धले तलाउमा सहस्रदल कमलको बिउ रोपेका र उक्त कमलको बिउ उम्रेर फूल फुलेपछि त्यसै कमलको फूलमा एउटा ज्योतिर्मय भगवान् प्रकट हुनुभयो भन्ने कुरा स्वयम्भू पुराणमा उल्लेख भएको पाइन्छ । यसरी त्यस थुम्कोमा आफैँ ज्योतिर्मय भगवान् प्रकट हुनुभएको कारणले नै त्यसको नाम स्वयम्भू रहन गएको हो । नालान्दा विश्वविद्यालयका आचार्य नागार्जुनलगायत अन्य सन्त, उपासक, योगी ध्यानीहरूको ध्यान केन्द्र पनि नागार्जुन पर्वत रहेको पाइन्छ ।

नागार्जुन पर्वतको उच्च भागमा रहेको जामाच्वो तीर्थमा प्रत्येक वर्ष कार्तिक शुक्ल र चैत्र शुक्ल पूर्णिमा (बाइसधारा पूर्णे)का दिन ठूलो मेला लाग्दछ भने नयाँ वर्षको अघिल्लो दिन पनि मानिसहरू दीप प्रज्वलन गर्न जाने गर्छन् । यस दिन हिन्दु तथा बौद्धमार्गी दुवै धुमधामसँग जामाच्वोमा पूजाअर्चना गर्न र दीप बाल्न पुग्दछन् । बालाजु बाइसधारा स्नान गरी त्यहाँस्थित शेषशायी विष्णु भगवान्, शीतलामाईको दर्शन र पूजाआजा गरी भक्तजन नागार्जुन पर्वतको शिरमा रहेको जामाच्वो स्तूपमा पुग्दछन् । यसै अवसरमा त्यहाँ रहेका नाग, नागार्जुन महादेव, जामाच्वो स्तूप, इन्द्रको दर्शन र पूजापाठ पनि गर्ने गरिन्छ । त्यस्तै नागार्जुन पर्वतको उत्तराखण्डमा समयमा वर्षात् नहँुदा नागार्जुन महादेवसँग पानी माग्ने प्राचीन चलन अझै पनि रहेको छ ।

यहाँबाट काठमाडौँ उपत्यका, नुवाकोट र धादिङको सहरी तथा ग्रामीण मनोरम दृश्यका साथै आधा दर्जनभन्दा बढी हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ । ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन, तीर्थाटन पर्यटन, धार्मिक तथा आध्यात्मिक पर्यटनको ज्यादै सम्भावना बोकेको नागार्जुन पर्वत क्षेत्र सम्भवतः विश्वको पहिलो संरक्षित क्षेत्र पनि हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिवपुरी र नागार्जुन पर्वत खण्डमा पर्ने यो क्षेत्र जैविक दृष्टिले पनि महìवपूर्ण मानिन्छ । त्यसैले यहाँको जैविक विविधतालाई खलल नपु¥याई पर्यटन प्रवद्र्धनका कार्य थालनी गर्नुपर्ने देखिन्छ । 

यहाँ भएका वा पाइने जीवजन्तु, सिमसार, वनक्षेत्रको संरक्षण गर्दै जैविक, धार्मिक, सांस्कृतिक विविधताको संरक्षण गर्नु अर्को महìवपूर्ण कदम मानिन्छ । त्यसैले यहाँको पर्यावरणलाई पर्यटनसँग जोडेर घरआवास (होमस्टे), साइक्लिङ, पदयात्राजस्ता कार्यक्रम सञ्चालन गर्ने हो भने यहाँको अर्थतन्त्र पनि मजबुत हुनेछ ।

यस क्षेत्रमा आठ प्रजातिका सरिसृप, तीन प्रजातिका उभयचर, २२ प्रजातिका स्तनधारी, १०२ प्रजातिका पुतली, ३११ प्रजातिका चरा, १२९ प्रजातिका च्याउ साथै नेपालमा पाइने २७ प्रजातिका दुर्लभ वन्यजन्तुमा पाँच किसिमका वन्यजन्तु शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा पाइन्छन् । तीमध्ये ध्वाँसे चितुवा, चाइनिज पेङ्गोलिन, इन्डियन पेङ्गोलिन, आसामी बाँदर, चरी बाघ, काँडे भ्याकुरका लागि प्रख्यात शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र यहाँको मध्यवर्ती क्षेत्रको आफ्नै महत्व छ ।

कुनै पनि ठाउँको पर्यटकीय विस्तार गर्न स्थानीय गौरव गाथा, मूल्यमान्यता, प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्दै नयाँ पुस्तालाई त्यसमा आकर्षित गर्ने कार्यक्रम तर्जुमा गर्नु पर्छ । यस्ता क्षेत्रलाई समेटेर पर्यटन विस्तार गर्ने खालका कार्यक्रम कार्यान्वयन गर्ने हो भने पक्कै पनि विदेशिने युवालाई स्वदेशमा नै केही गर्न प्रेरणा मिल्ने देखिन्छ ।

पर्यावरणसम्मत क्रियाकलापका आधारमा सम्पन्न हुने पर्यटन व्यवसाय नै पर्यापर्यटनको दायराभित्र अट्न सक्छन् । पर्यावरण स्वच्छ र सन्तुलित नभएमा त्यो ठाउँको पर्यटन पनि अनुकूल हुँदैन । त्यस्ता ठाउँमा पर्यटक आकर्षित हुन सक्दैनन्, चाहे ती आन्तरिक हुन् वा बाह्य । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा जैविक विविधता बोकेका सम्पदाको प्रचारप्रसार गरी बृहत् योजना निर्माण गर्नुपर्ने देखिन्छ । यहाँको पाँचमाने, जितपुरफेदी र जामाच्वोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व भएका कारण त्यससँग जोडेर विभिन्न खालका पर्यटन विस्तार र संवद्र्धनका योजना निर्माण गर्नु अत्यावश्यक देखिन्छ ।