चितवन समाचारदाता
देवघाट (चितवन), असार २९ गते । देवघाटका लक्ष्मण भण्डारीको बुवा एकाएक थला पर्नुभएपछि उहाँले चार महिनासम्म योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागेश्वरीमा राखेर उपचार गराउनुभयो । चिकित्सकको निगरानीमा आवासीय सुविधासहित फिजियोथेरापी तथा अन्य उपचार विधि अपनाएपछि उहाँको स्वास्थ्यमा सुधार आयो । गम्भीर प्रकृतिको समस्या देखिएको बुवालाई चार महिना राखेर उपचार गरेपछि अहिले सामान्य हिँड्डुल गर्न सक्ने हुनुभएको उहाँले बताउनुभयो ।
भरतपुर–१० का ऋषि थापाले आफ्नी दिदीको उपचार गराइराख्नुभएको छ । यहाँ उपचार गराउन थालेपछि दिदीको स्वास्थ्यमा सुधार आएको उहाँको भनाइ छ । यस्तै भरतपुर–११ का रामचन्द्र आचार्यको ढाडमा समस्या आएपछि दुई हप्तासम्म प्राकृतिक चिकित्सालयमा बसेर उपचार गराउनुभयो । यहाँ उपचार गराएपछि स्वास्थ्यमा सुधार भएर अहिले मोटरसाइकल चलाएरै हिँड्न सक्ने हुनुभएको छ ।
उहाँहरू मात्र होइन, भरतपुर महानगरपालिका–१, वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय पछिल्लो समयमा बिरामीको आकर्षणको केन्द्र बन्दै गएको छ । आधुनिक उपचार पद्धतिबाट सन्चो नभएका बिरामीलाई उपचार गरिँदै आएको चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले बताउनुभयो । २०७२ मा स्थापना भएको अस्पतालमा अहिले दैनिक सयौँ बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाइ छ ।
जिल्ला आयुर्वेदिक अस्पताल रत्ननगरबाट २०७४ असोज २९ गते स्वीकृत लिएर वैकल्पिक उपचार केन्द्र सञ्चालनमा रहेको हो । आधुनिक उपचार पद्धतिमा महँगो खर्च गरेर पनि सन्चो नभएका बिरामी यहाँ आउने गरेको निर्देशक कोइरालाले बताउनुभयो ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका निमित्त कार्यालय प्रमुख कमल पाण्डेले एक सय जना बिरामीलाई आवासीय सुविधासहित उपचार गर्ने क्षमता रहेको जानकारी दिनुभयो । अहिले चिकित्सालयमा ३५ जनाले आवासीय उपचार गर्दै आएका छन् । चिकित्सालयका डाक्टर चिराग शर्माले मुटु, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, थाइराइड, मिर्गाैला, तौल घटाउने, स्मरण शक्ति वृद्धि गराउने, छालासम्बन्धी समस्या भएकालगायतको उपचार हुने जानकारी दिनुभयो ।
चिकित्सालयमा मसाज, फिजियोथेरापी, अक्युपञ्चर, माटोथेरापी, पानीथेरापी, पञ्चकर्म, शिरोधारा, जानुवस्ती, गृवावस्ती, हृदयवस्तीलगायतको विधिबाट उपचार गरिन्छ । हरेक दिन बिहान सबैलाई निःशुल्क योग सिकाइने व्यवस्था रहेको चिकित्सालयका सञ्चालक उपसमितिका संयोजक षडानन्द लामिछानेले जानकारी दिनुभयो ।
यहाँ प्यारालाइसिस, स्पाइनल इन्जुरी, पार्किङसनका बिरामीलाई लामो समयसम्म राखेर उपचार गर्नुपर्ने डाक्टर शर्माले जानकारी दिनुभयो । “यस्ता बिरामीलाई दैनिक रूपमा उपचार गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “चिकित्सकको निगरानीमा उपचार गर्दा निको बनाउन सकिन्छ ।”
चिकित्सालयमा भारतबाट आएका र नेपाली आवासीय चिकित्सकले उपचार गर्दै आउनुभएको छ । डा. सुजन कौडेल, डा. मीरा लम्साल, डा. अनिलबाबु पराजुलीसहितको टिमले नियमित उपचार गर्दै आएको डा. शर्माले बताउनुभयो ।
सुविधा अनुसार आवासको शुल्क निर्धारण गरिएको छ । देवघाट क्षेत्र विकास समितिभित्र रहेको यो प्राकृतिक चिकित्सालय जङ्गलभित्र शान्त वातावरणमा रहेको छ ।
मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरले सञ्चालन गरेको छात्रावास हटेपछि यहाँका नागरिक अगुवाहरू मिलेर प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याएका हुन् । वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पियाले धेरै परिश्रमबाट अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । मेडिकल कलेजको छात्रावास हटेपछि योगी सन्न्यासी बस्दै आएका थिए । उनीहरूलाई समेत साथ लिएर सुविधासम्पन्न प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याएपछि यस वरपर र भारतबाट समेत बिरामी उपचार गर्न आएको उहाँले बताउनुभयो । चिकित्सालयनजिकै गौ संरक्षण केन्द्र रहेको छ । स्थानीय जातका गाईको गौमूत्रबाट पनि यहाँ उपचार गरिँदै आएको छ ।