अमरगढी समाचारदाता
डडेलधुरा, असार २९ गते । घर घरमा धारा बनेपछि घन्टौँको दुरीमा लाइन बसेर पिठिउँमा पानी बोक्नुपर्ने बाध्यता अमरगढी नगरपालिकावासीको अन्त्य भएको छ ।
उग्रतारा मन्दिरछेउबाट पानी ल्याउन झन्डै एक घण्टा समय लाग्थ्यो । ५० लिटरका ग्यालेन पिठिउँमा बोकर पानीको जोहो गर्नुपथ्र्यो तर घर घरमै धारा जडान भएपछि त्यो बाध्यताको अन्त्य भएको अमरगढी नगरपालिका–८, लटाउलीगाउँका ६० वर्षीय भागरती साँकीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँनजिकका नाउलाबाट पानीको जोहो गथ्र्यौं । एक ग्यालेन वा गाग्री घरसम्म पुर्याउँदा एक घण्टा त लागि हाल्थ्यो नै ।
गर्मीका महिना त्यही नाउलाको पानी पनि सुकिहाल्थ्यो अनि अल्लो गाउँ, पल्लो गाउँका नाउला वा घन्टौँ दुरीमा खोलासम्म जानु पथ्र्यो ।” घरका एक जनाले दिनभर पानी मात्रै भर्नुपर्ने बाध्यता थियो । हाल यो समस्याबाट लटाउली गाउँवासी मुक्त भएका छन् । अमरगढी नगरपालिका–८ ले लटाउली गाउँमा एक घर एक धारा सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७६/७७ यता यी गाउँमा खानेपानी पुर्याउन करिब पौने दुई करोड रकम खर्च गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेलधुराका कार्यालय प्रमुख हंशबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आवमा १६ लाख रुपियाँ रकम लागतमा एक घर एक धारा खानेपानी कार्यक्रम लागु भएको छ । यहाँका ८० घरधुरीका धारामा गत वर्षदेखि नै पानी सञ्चालन गरिएको छ । डडेलधुरा लिफ्ट खानेपानी योजना उग्रतारा अन्तर्गत यस योजनामा सोलरबाट साढे सात सय मिटर उचाइमा पानी तानिएको छ ।
२०७७ मा ३६ लाख रकमबाट योजनाको सुरुवात गरिएको उपभोक्ता समितिका अध्यक्ष श्याम साँकीले जानकारी दिनुभयो । त्यसयता यस वर्षको रकम जोड्दा पौने दुई करोड पुगेको उहाँले बताउनुभयो ।