• २९ असार २०८२, आइतबार

कालोपत्रे गरियो निकुञ्ज कोरिडोर

blog

भरतपुर र कालिका जोड्ने सडक कालोपत्रे गरिँदै । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

कालिका (चितवन), असार २९ गते । चितवन राष्ट्रिय निकुञ्जको कोरिडोर क्षेत्रमा दुई पालिकालाई जोड्ने सडक कालोपत्रे गरिएको छ । भरतपुर महानगरपालिकाबाट कालिका नगरपालिका जोड्ने पूर्वी चितवनको उत्तराखण्ड सडक कालोपत्रे गरिएको हो । 

जिल्लाको सदरमुकाम भरतपुर र पूर्वी चितवन जोड्ने सबैभन्दा छोटो सडक कालोपत्रे नहुँदा बर्सौंदेखि स्थानीयले दुःख भोग्दै आएका थिए । सडक भत्किँदा यात्रा गर्न कठिन र जनवारको जोखिमसमेत भएको स्थानीय सन्तकुमार चौधरीले जानकारी दिनुभयो । सडक भत्किँदा यात्रा बिस्तारै गर्नुपर्ने हुँदा जनावरको जोखिम बढेको थियो । अहिले सडक कालोपत्रे गरेपछि छिटो यात्रा गर्न सकिने भएको उहाँले भन्नुभयो । 

यो सडकको भूविन्यासका कारण समस्या आएको थियो । कालिका नगरपालिका प्रवेश गर्ने मुख्य सडक भए पनि सडकको अधिकांश भाग भरतपुर महानगरपालिकाको सीमाभित्र पर्दछ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले भन्नुभयो, “हामीले बारम्बार सडक डिभिजन कार्यालयमा आग्रह ग-यौँ । भागिसकेको ठेकेदारलाई खोजेर ल्यायौँ, काम गरायौँ । जनताको गाली निकै सहनु प-यो तर अन्ततः काम सम्पन्न भएको छ ।” 

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले १२ सय मिटर कालोपत्रे गर्न एक करोड ११ लाख रुपियाँमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । यस खण्डमा केही भाग ढलान गरिएको छ । गुणा निर्माण सेवाले ठेक्का लिएर काम सम्पन्न गरेको हो ।

भोजाड–खगेरी सडक भरतपुर र पूर्वी चितवन जोड्ने वैकल्पिक मार्गका रूपमा यसलाई प्रयोग गर्दै आएको छ । पूर्व–पश्चिम राजमार्गमा समस्या भएको समयमा यताबाटै सवारीसाधन सञ्चालन गर्ने गरिएको छ । कालिका नगरप्रमुख रेग्मीका अनुसार यो सडक भएर दैनिक चार हजार मानिसले यात्रा गर्ने गरेका छन् ।

चक्रपथ निर्माण सम्पन्न

दोलखा समाचारदाताका अनुसार सहरी खानेपानी तथा सरसफाइ आयोजना (क्षेत्रगत) ले सदरमुकाम चरीकोट बजारको करिब डेढ किलोमिटर चव्रmपथ सडक कालोपत्रे गरेको छ । लामोसाँघु–जिरी सडकखण्डको डिभिजन सडक कार्यालयदेखि चरीकोट–दोलखा सडकखण्डको जिल्ला प्रहरी कार्यालयनजिकसम्म जोडिएको यो सडक कालोपत्रे गरिएको आयोजना डिजाइन तथा परामर्शदाताका इन्जिनियर सन्तोष भुजेलले जानकारी दिनुभयो । 

आयोजनाको ८५ प्रतिशत र भीमेश्वर नगरपालिका १५ प्रतिशतको संयुक्त लगानीमा निर्माणाधीन अत्याधुनिक ढल प्रशोधन केन्द्रसहितको ढल निर्माण गर्ने व्रmममा सो चव्रmपथ कालोपत्रे भएको हो । सडकले यातायात आवागमनमा सहज भएको छ । ह्युमपाइप बिछ्याउँदा बिग्रेका वडा नं. ३ देखि ६ सम्म ११ किलोमिटरभन्दा बढी सडक स्तरोन्नति भइरहेका छन् । 

निर्मित सडकमा चार हजार पाँच सय मिटर कालोपत्रे, तीन हजार पाँच सय मिटर ढलान, एक हजार पाँच सय मिटरमा सोलिङ, दुई हजार दुई सय मिटरमा ग्राभेल र एक हजार नौ सय किलोमिटर ह्युमपाइप बिछ्याइएको हो । अहिले बाँकी कालोपत्रेको काम भइरहेको छ । असार मसान्तसम्म काम सम्पन्न गरी नगरलाई हस्तान्तरण गरिने तयारी भइरहेको आयोजना डिजाइन तथा परामर्शदाताका इन्जिनियर भुजेलले जानकारी दिनुभयो ।