• १२ साउन २०८१, शनिबार

मातृसत्तात्मक डोल्पो

blog

नेपालको जातीय, सांस्कृतिक, हावापानीलगायतमा व्यापक विविधता छ । यति सानो देशमा रहेको विविधतालाई स्पष्ट पार्न नेपालका मानार्थ नागरिक, भूगर्भ वैज्ञानिक तथा सामाजिक अध्येता 

स्विट्जरल्यान्डका टोनी हेगेनले नेपाललाई ‘एसियाको जातीय गोलमेच’ भनेका छन् । नेपाली विविधताको एउटा सौन्दर्य हो डोल्पो जाति । 

डोल्पाको माथिल्लो भाग, चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको माथिल्लो भेगमा बसोबास गर्ने भएकाले स्थान विशेषको नामबाट यो जातिलाई डोल्पो भनिएको हुन सक्छ । उपल्लो डोल्पा क्षेत्रमा यिनीहरूको सानातिना गरेर ३५÷४० गाउँ रहेका छन् ।

कतिपयले डोल्पोको भाषा काइके हो भन्दै त्यही भाषाको वक्ता भएकाले डोल्पोहरू काइके जाति पनि कहलिएको हुन सक्ने बताएका छन् । काइके–मगर भाषाको अध्ययन अनुसन्धानबाट यस्तो द्विविधा हट्न सक्छ । डोल्पोको भाषालाई तराली पनि भनिन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यो जातिलाई डोल्पो भनेर आदिवासी जनजातिमा सूचीकृत गरेको छ । 

डोल्पोलाई स्थानीय भाषामा धोल्पोवा÷डोल्पोवा भनी उच्चारण गरिन्छ । धौलागिरि हिमालको उत्तर र तिब्बतबाट दक्षिणतिर भेरी नदीको मुहानसम्म यिनीहरूको मौलिक बसोबास क्षेत्र रहेको छ । केही व्यापार र रोजगारीका सिलसिलामा सहरी क्षेत्रमा पनि बसेका छन् । 

यो जातिका केही विशेषता उल्लेखनीय छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा २०५७ मा प्रकाशित जातीय परिचय पुस्तिकामा यो जातिमा बहुपति प्रथा छ भनी उल्लेख गरिएको छ । यस्तै फ्रान्सका चलचित्र निर्देशक एरिक भ्यालीको निर्देशनमा बनाइएको माथिल्लो डोल्पाको जनजीवनमा आधारित चलचित्र क्याराभानमा पनि यिनको संस्कृति देखाइएको छ । 

चलचित्रमा स्थानीय थिन्लेले मुख्य भूमिका निर्वाह गरेका छन् । सो चलचित्र हेर्नेलाई डोल्पो भन्ने बित्तिकै उनै थिन्लेको अनुहार, मृत्यु संस्कार र तिब्बतमा नेपालीले नुन खेप्न लिएर जाने च्याङ्ग्राको लर्को (क्याराभान)को सम्झना आउँछ । यो जातिमा मृतकलाई काटेर गिद्ध, चील अन्य पन्छी वा जनावरलाई खुवाउने चलन थियो । यो प्रचलनमा अहिले कमी आएको देखिन्छ । सहजै खन्न सकिने जमिनको अभाव, हिउँले गर्दा वर्षौं शव नगल्ने, चिहान बनाउने जमिनको कमीजस्ता कारण यसो गरिएको हुन सक्छ । यसलाई पर्यावरणले संस्कृति निर्माणमा निर्वाह गरेको भूमिका अर्थात् कल्चरल इकोलोजीको दृष्टिकोणबाट बुझ्न र व्याख्या गर्न सकिन्छ । 

डोल्पोहरू मातृसत्तात्मक समाजमा रहेका छन् । परिवारमा महिलाको अधिकार निर्णायक हुन्छ । जेठो दाजुले विवाह गरी ल्याएको महिलालाई देवरहरूले पनि श्रीमती मान्नुपर्छ । घरज्वाइँ बस्ने वा राख्ने चलन पनि थियो तर यस्तो बसाइमा दुवै परिवारको आपसी सहमति हुनुपर्छ । चोरी विवाह डोल्पोहरूको एउटा मौलिक विवाह परम्परा हो । जसमा केटा वा केटी चोर्न पाइन्छ । केटाले साथीभाइसहित गएर मन परेकी केटीलाई आफ्नो घरमा ल्याएर राख्ने तथा केटीहरूले पनि यस्तै गर्न पाइन्छ । केही समय र प्रक्रिया पु¥याएर चोरी विवाहलाई औपचारिकता दिइन्छ । बिहे भोज पनि हुन्छ । जसलाई घ्वा खाने भनिन्छ । 

विवाहपूर्व यौनसम्पर्कमा पनि यिनीहरू कठोर छैनन् । औपचारिक विवाहपूर्व बच्चा जन्मेमा केटाले जरिवानाबापत केटी पक्षलाई पैसा तिर्नुपर्छ । जरिवाना र मेलमिलापको वातावरण उनीहरूको जातीय बैठकले गर्छ । यसरी छोरा जन्मेमा केटाको र छोरी जन्मेमा केटीको हक लाग्थ्यो तर अहिले यस्ता प्रचलन इतिहास हुँदैछन् । विवाह, पारपाचुके, झैझगडा, चोरी, हत्याजस्ता घटनामा पनि उनीहरूका मुखियासहितको घरमुलीहरूको बैठकले निर्णय गरेबमोजिम दण्ड सजाय हुन्छ ।  

समुद्र सतहदेखि करिब १३÷१४ हजार फिट उचाइमा बसोबास गर्ने यिनीहरूको शारीरिक बनोट र केही सांस्कृतिक विशेषता उपल्लो मुस्ताङको ल्होमान्थाङका ल्होपासँग मिल्छ । केही वर्षअघिसम्म ल्होपामा पनि बहुपति प्रथा थियो भनिन्छ ।  

डोल्पोको जनजीवन मूलतः पशुपालनमा आधारित छ । कृषि र व्यापार पनि गर्छन्, व्यापार तिब्बततिर । मुख्य रूपमा बहुमूल्य जडीबुटी, पशु, वन्यजन्तुु र पत्थरको व्यापार गर्दछन् । विश्वकै अग्लो स्थानमा रहेको ताल शे–फोक्सुन्डो (३६१२ मिटर उचाइ), शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, दुर्लभ हिउँचितुवा, सेताम्ये हिमशृङ्खलासँग डोल्पो जनजीवनको सामीप्यता छ । यस्तो लाग्छ डोल्पामा सबै छ, मात्र समृद्धि छैन । जस्तो कि अहिलेसम्म डोल्पोहरू राष्ट्रिय सडक सञ्जालमार्फत यातायातको मूल सञ्जालमा जोडिन पाएका छैनन् । सडक पुगेको भए फ्रान्सका चलचित्र निर्देशक एरिक भ्यालीको निर्देशनमा बनाइएको चलचित्र क्याराभानमा अभिनय गर्ने मुख्य कलाकार ७५ वर्षीय थिन्लेको घोडाबाट लडेर २०७३ साल वैशाख १३ गते मृत्यु हुने थिएन होला । 

राष्ट्रिय जनगणना– २०६८ अनुसार डोल्पोको जनसङ्ख्या चार हजार १०७ रहेको छ । महिलाको सङ्ख्या दुई हजार १३९ र पुरुषको सङ्ख्या एक हजार ९६८ छ । तीमध्ये मध्यपहाडी क्षेत्रमा ४८ जना र चार हजार ५९ जना मध्यपश्चिम हिमाली क्षेत्रमा रहेका छन् । यसअघिका जनगणनामा डोल्पो जातिको नाम र जनसङ्ख्या उल्लेख छैन । आदिवासी जनजातिलाई गरिएको वर्गीकरणअनुसार डोल्पो सीमान्तकृत समूहमा पर्छ  । डोल्पोहरू बोन (बोनपो) तथा बौद्ध धर्मावलम्बी छन्  । 


–त्रिभुवनचन्द्र वाग्ले