• ७ वैशाख २०८१, शुक्रबार

लोप हुँदै पाैष्टिकयुक्त जौ खेती

blog

खप्तड छेडेदह गाउँपालिका –७ आटिचौरको जाै बाली । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत २१ गते । बाजुराका अधिकांश स्थानीय तहमा पछिल्लो समय कृषिउपज जौ बाली बिस्तारै लोप हुँदै गएको छ । पहिलाका पुस्ताले घरघरमा गाई, भैँसीलाई पीडा बनाउनका लागि खेती गर्दै आएको कृषिउपज जौ बाली अहिलेको नयाँ पुस्ताले गाई, भैँसी पाल्न छोडेपछि बिस्तारै लोप हुँदै गएको हो ।

मानव स्वास्थ्यका लागि निकै पौष्टिक आहारको रूपमा मानिने कृषिउपज जौ बाली पछिल्लो पुस्ताले खासै चासो नदेखाएपछि लोप हुँदै गएको स्थानीय बताउँछन् ।

बूढीगङ्गा नगरपालिका –१० जया रावलले दुहुनु गाई भैँसीका लागि मात्र थोरै जौ लगाउने गरेको बताउनुहुँदै भन्नुभयो, ‘अहिले गाई, भैँसी पाल्न छोडेपछि जौ खेती लगाउने कम भएका छन् ।’ जाै भुटेर पीडाको रूपमा दिएपछि यसले दुहुनु गाई, भैँसीलाई निकै फाइदा दिने गर्दछ । 

खप्तड छेडेदह गाउँपालिकाका –४ का बुद्धे रावतले पहिला गाउँमा चैतको महिना निकै भोकमरी हुन्थ्यो । गाउँमा कतै चामल पाइँदैन थियो ।  त्यति बेला यहाँका स्थानीयले दही र महीसँगै जौको सातु बनाएर खाने गरेको बताउनुभयो ।

मानव स्वास्थ्यलाई आवश्यक हुने सबैखालको प्रोटिन जाैबाट नै पाइने गरेको भए पनि यहाँका स्थानीयलाई जौको बारेमा ज्ञान नहुँदा पछिल्लो समय जौ खेती बिस्तारै लोप हुँदै गएको रावतले बताउनुभयो । 

बाजुराका बूढीगङ्गा, त्रिवेणी, छेडेदह, बडिमालिका, गौमुल, स्वामिकार्तिक, जगनाथ, बूढीनन्दा, हिमाली  लगायतका नौ वटै स्थानीय तहमा जौ फल्ने गर्दछ ।

बाथ, मधुमेह, उच्चरक्तचाप, छालाको समस्या, एनेमिया, कब्जियत, मुटुका बिरामी भएकाहरूलाई जौले निकै फाइदा दिने गरेको भए पनि यहाँका स्थानीले जौ लगाउन छोडेर गहुँ खेती गर्दै आएका छन् ।

बालबालिकाहरूको स्वास्थ्यमा पनि जौले निकै फाइदा दिने गरेको छ । जौ भुटेर सातुको रूपमा दिने गरेपछि बालबालिकाको स्वास्थ्यलाई निकै फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् । 

बाजुरामा विवाह र देउताको पूजापाठमा समेत जाै प्रयोग हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । बाजुरामा एक हजार ५६५ हेक्टर जमिनमा जौ खेती लगाउने गरेको कृषि ज्ञान केन्द्र, बाजुराले जनाएको छ । 

कृषि ज्ञान केन्द्र, बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बाजुरामा जौ राम्रो उत्पादन हुने गरेकाले विगतका केही वर्षदेखि यहाँका किसानलाई जौ खेती गर्न उत्प्रेरित गर्दै आएको बताउनुभयो ।