• १६ चैत २०८०, शुक्रबार

कागती खेतीबाट मनग्य आम्दानी गर्दै बाँके राप्तीसोनारीका किसान

blog

आफ्नो खेतको कागती टिप्दै किसान ओली । तस्बिर: सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, चैत २१ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित बाघखोर गाउँका झग्गुप्रसाद ओलीले कागती खेतीबाट वार्षिक ५ लाख रुपियाँ आम्दानी गरिरहनु भएको छ । 

११ वर्षअघि ओलीले डेढ बिगाहा जमिनमा कागती खेतीको कारणले गाउँ नै कागतीको बास्नाले मगमगाएको छ । 

छेउमै बाँके राष्ट्रिय निकुञ्ज भएकाले अन्य खेती गर्दा जङ्गली जनावरले नोक्सानी पुर्‍याउने हुँदा झग्गुले यो खेती रोजेको बताउनुभयो । 

कागती खेतीले आम्दानी बढ्नुका साथै गाउँका युवालाई पनि रोजगारी दिएको ओलीले बताउनुभयो । 

झग्गुले लगाएको ‘सुन कागती’ जातको माग बजारमा उच्च छ । माग धेरै भएकाले पनि उहाँलाई उत्पादन दिने समयमा समेत माग पूरा गर्न मुस्किल पर्ने गरेको छ । त्यहाँ उत्पादन भएको ‘सुन कागती’ नेपालगञ्ज, दाङ, पोखरालगायतका सहरमा जाने गरेको छ ।

उहाँका अनुसार कागतीमा कहिलेकाहीँ रोगले सताउँछ । समयमा ध्यान दिन सके कागती खेती धेरै राम्रो पेसा भएको अनुभव भएको छ । 

एकपटक रोपेको यो कागतीले २५ वर्षसम्म फल दिन्छ । 

कागतीको एउटै बोटमा २५ किलोदेखि डेढ क्विन्टलसम्म कागती फलेको ओलीको अनुभव छ । बजारमा कागती ८० देखि १५० रुपियाँ प्रति किलोसम्म विक्री हुने गरेको छ । एक हजार बिरुवा रोपेकोमा हाल उहाँको बारीमा ३०० बोट छन् ।

ओलीले गरेको खेती हेरेर राप्तीसोनारी वडा नं. १ मा हाल १० जनाले कागती खेती गरिरहेका छन् ।