• ८ वैशाख २०८१, शनिबार

असन्तुष्ट पक्षको बहिस्कारबीच सकियो एन्फा बैठक

blog

एन्फा बैठकमा सहभागि पदाधिकारी । तस्बिर : एन्फा

काठमाडौं, चैत १८ गते । असन्तुष्ट पक्षले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आकस्मिक बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । एन्फाले शनिबार कार्यसमितिको आकस्मिक बैठक डाकेको थियो ।

तर, एजेन्डाबिनै बैठक बोलाइएको भन्दै एन्फाका उपाध्यक्षत्रय बिराटजंग शाही, दिर्घबहादुर केसी र दीपक खतिवडा तथा सदस्यहरू रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रवीन्द्रबहादुर चन्द, मनिष जोशी, सरिला श्रेष्ठ, रमेश व्यञ्जनकार, पेमा लामा र अनिल मल्लले बहिस्कार गर्नुभएको थियो ।

असन्तुष्ट पदाधिकारीले बैठक बहिस्कार गरेपनि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कार प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत सरकारसँग माग गर्ने, प्रतियोगिताको फाइनल खेलमा सहभागी भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

दशरथ रंगशालमा शुक्रबार भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले लाओसलाई २–१ गोलले हराउँदै उपाधि जितेको थियो । यस्तै बैठकले फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने, शहीद स्मारक ‘बी’ डिभिजन लिगका लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपियाँ दिने र लिग सञ्चालनको लागि बजेट पारित गर्ने, जिल्ला लिग सञ्चालनका लागि जिल्लालाई प्रदान गरिने रकम माग गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला फुटबल सङ्घको कार्यालय सञ्चालनका लागि दुई लाख र सामग्रीका लागि एक रुपियाँ दिने, प्रधानमन्त्री थ्री नेसन्स कपको पुरस्कारका लागि राखेपसँग नौ हजार पाँच सय अमेरिकी डलर र नेपाली राष्ट्रिय फुटबल टोलीको बसोबास खर्च माग गर्ने, शहीद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिगका लागि अपुग रकम राखेपसँग माग गर्ने, एन्फाले फिफाको सहयोगमा निर्माण गर्ने पूर्वाधारको कार्यक्रम बारे सम्भावना, सहभागिता र जग्गा प्राप्तिको लागि जिल्ला र क्लबहरूलाई पत्राचार गरी प्रस्ताव माग गर्ने निर्णय पनि गरेको छ ।