• ६ वैशाख २०८१, बिहिबार

पशुमा लम्पी स्किन सङ्क्रमण

blog

लीलाधर वली

घोराही, चैत १८ गते । पशुमा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दाङमा बढ्दै गएको छ। भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका किसान चिन्तित छन्। 

जिल्लाको बङ्गलाचुली, राप्ती, गढवा, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाको केही वडामा रोगको सङ्क्रमण देखिएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८  मा बढी मात्रामा देखा परेको छ। रोगका कारण पालिकामा करिब २५० भन्दा बढी पशुचौपाया बिरामी परेका छन्।   

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने र गाईहरूले दूध दिन छोड्ने समस्या देखिएको बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिनुभयो। 

पशु सेवा केन्द्रका विज्ञसँगको समन्वयमा बिरामी पशुको नमुना सङ्कलन गरेर क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकोमा त्यहाँबाट लम्पी स्किन रोग पुष्टि भएको विज्ञ केन्द्रका भेटेरिनरी अधिकृत भरत देवकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार रोगको थप अनुसन्धानका लागि काठमाडौँ नमुना पठाइएको छ। 

राप्ती गाउँपालिकाको वडा नं. ५, ७, ८ र ९ का विभिन्न बस्तीमा पनि लम्पी स्किन रोगले पशु थलिएका छन्। पालिकामा करिब ३५० भन्दा बढी गाई र गोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो। उहाँका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं. ५ को करङ्गेकोट, थकरीकोट, वडा नं. ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरिरहेको छ। प्रकोपका कारण गाउँपालिकाको रूपाकोट, घोसखोलालगायत पाँच स्थानमा १० भन्दा बढी पशु मरेका पशु सेवा शाखा प्रमुख पौडेलले बताउनुभयो। 

लम्पी स्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ। पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भन्नुभयो, “पहिले पहाडी क्षेत्रमा समस्या देखिएको थियो, अब विस्तारै तराईतिर सर्दै गएको छ। लम्पी स्किन एक प्रकारको बिफरजस्तै रोग हो।”

उहाँले भन्नुभयो, “भाइरसका कारण यो रोग लाग्ने भएकाले उपचार छैन। रोकथामको प्रयास गर्ने हो। सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो।”

दाङमा पशुमा समस्या देखिएपछि सुरुमा के रोग हो भन्ने पहिचान गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो। त्यस्तै घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पी स्किन रोगका कारण किसान मारमा परेका छन्।