मकवानपुर समाचारदाता
हेटौँडा, चैत १८ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले महँगो शुल्क लिँदै अस्पताल सञ्चालनमा समेत चरम लापरबाही गर्दै आएको भेटिएको छ।
निजी अस्पतालले अस्पतालमा आउने महिला र पुरुष बिरामीका लागि अनिवार्य रूपमा गर्नुपर्ने छुट्टाछुट्टै शौचालयसमेतको व्यवस्था नगरेको पाइएको छ। अस्पतालजन्य फोहोर व्यवस्थापनसमेत नगर्ने गरेको देखिएको छ।
एकीकृत बजार अनुगमन समितिले हेटौँडा उपमहानगरपालिका–१ मा रहेको हेटौँडा मोडल अस्पतालको अनुगमन गर्दा अस्पतालमा बिरामी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र अस्पतालबाट निस्कने फोहोर विसर्जनका लागि छुट्टै संरचनाको व्यवस्थापन नभएको पाइएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री तथा आयात गर्ने गरिएको नार्कोटिक औषधिको व्यवस्थित अभिलेख राख्ने नगरेको पाइएपछि अभिलेख राख्न निर्देशन दिइएको छ।
स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले अस्पताललाई चौबिसै घण्टा फार्मेसी सञ्चालन गर्ने बेहोराको पत्राचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्वास्थ्य कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकालाई निर्देशन दिइएको जानकारी दिनुभयो। उहाँले अस्पतालले ‘सी’ वर्गको प्रयोगशाला सञ्चालन अनुमति लिए पनि अनुगमनका क्रममा मापदण्डअनुसारको जनशक्ति नदेखिएको हुँदा त्यस्तो जनशक्ति व्यवस्थापन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको बताउनुभयो।
अस्पतालले कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचार व्यवस्था गर्नुपर्ने प्रावधान रहेकोमा अस्पतालले नगरेको अनुगमनका क्रममा देखिएपछि मापदण्डअनुसार विपन्नलाई निःशुल्क सेवा दिएर अभिलेख राख्न र फिजियोथेरापी सञ्चालन अनुमति सम्बन्धित निकायबाट सात दिनभित्र लिनसमेत अनुगमन समितिले अस्पताल सञ्चालकलाई निर्देशन दिएको छ। अनुगमन समितिले आधारभूत शल्यक्रिया गर्न र जटिल खालका शल्यक्रिया हाललाई नगर्न अस्पताललाई निर्देशन दिएको छ। अस्पतालमा एम्बुलेन्स सेवासँगै स्वास्थ्य सेवासम्बन्धी ऐन, नियमावली र उपचार प्रोटोकलसमेत नरहेको पाइएको छ।
हेटौँडा बजार क्षेत्रमा पालिका र प्रदेश सरकारबाट स्वीकृति लिएर सञ्चालन गरिएका अस्पताललगायतका स्वास्थ्य संस्थाहरू जनस्वास्थ्यका मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको छ। निजी अस्पताललगायतका स्वास्थ्य संस्था जनस्वास्थ्यका सामान्य मापदण्डसमेत पालना नगरी सञ्चालनमा गरिरहेको भेटिएको हो।
यसअघि बागमती प्रदेश सरकारबाट स्वीकृति लिएर हेटौँडा उपमहानगरपालिका–१ मा सञ्चालनमा रहेको सन्चो हस्पिटलले पनि मापदण्ड पूरा नगरेको पाइएपछि अस्पतालमा सञ्चालित प्रयोगशाला प्रशासनले बन्द गरिदिएको थियो।
अस्पतालमा सञ्चालन गरिएको फार्मेसीसमेत नवीकरण नगरी सञ्चालन गरेको, अस्पतालको इमर्जेन्सीमा म्याद गुज्रेको औषधि पाइएको र कर चुक्तासमेत नगरेको पाइएपछि जनस्वास्थ्य ऐन तथा नियमावलीले तोकेका अन्य मापदण्ड पालना गर्नसमेत अस्पताललाई सुझाव दिइएको छ।
यस्तै हेटौँडा उपमहानगरपालिका–१ मा रहेको मकवानपुर सहकारी अस्पतालले अस्पतालको मापदण्डभन्दा बढी शय्या राखेर सञ्चालन गरेको पाइएपछि बढी भएको शøया हटाइएको छ। साथै हेटौँडा सिटी हस्पिटल नवीकरणबिनै सञ्चालन गरेको पाइएपछि नवीकरण गर्न निर्देशन दिइएको थियो।