भाइबहिनीहरू, नेपालमा धेरै वर्ष पहिले हरिदेव नाम भएका राजा थिए । उनका केशचन्द्र नाम भएका छोरा थिए । उनी कसैले भनेको केही नमान्ने जिद्दी स्वभावका बालक रहेछन् । उनी बराबर जुवा खेलिरहन्थे । जुवा खेल्ने ठाउँ थँबहिल (हाल ठमेल) थियो । एकदिन जुवा खेल्न जाँदा हारेछन् । रात पनि धेरै बितिसकेका कारण ठमेलमा बस्ने आफ्नो दिदीको घरमै गएर बसेछन् । जुवा खेल्ने लतले गर्दा केशचन्द्रले दिदीको घरबाट आफूले खाएको थाल नै चोरेर जुवा खेल्न हिँडे, त्यो पनि हारे । बेलुका घरमा आउँदा भाइले थाल चोरेर लगेको थाहा पाइन् ।
भाइको बानी सुधार्नका लागि गाली नगरिकन भात भुइँमा पस्किदिइन् । उनलाई भुइँमा राखिदिएको भात खानु पर्दा साह्रै ग्लानि भयो, उक्त भात आफ्नो पोल्टामा हालेर उनी दिदीको घरबाट निस्केर पशुपति गएछन् । त्यहाँ बागमती नदीमा नुहाइधुवाई गरी कैलाश डाँडामा बस्न थाले । जुवामा हारेको र दिदीको घरबाट थाल चोेरेको कारण घर जान मन लागेन, केही दिन पशुपतिमै बिताए । एकदिन बिहानीपख चौरमा घाम ताप्न बस्दा भुसुक्क निदाएछन् । सपनामा महादेवले भनेछन्– बाबु, यसरी आफ्नो घर छोडेर हिँड्नु हुँदैन, दुःख पाउँछौ, घर जाऊ ।
मैलो लुगामा भात थापेर खाने गरेका कारण गन्हाएका र खानेकुरामा पनि कीरा परेको थियो । निदाएको बखतमा परेवाहरूले त्यो सडेको भात र कीराहरू खाई सुनका दाना हगेर गएछन् । ब्युँझिदा सुन जम्मा भएको देखेर अचम्म परे । त्यही बेलामा कताबाट गुरुमापा भन्ने एक जना मान्छे नजिकै आए । केशचन्द्रले पनि मामा भनी सम्बोधन गरे । अनि त भानिज भनेर त्यो सुन बोकेर घरमा ल्याइदियो र केही दिन घरमा बस्न भने । गुरुमापाले हरेक दिनजसो टोलका केटाकेटीहरू चोरेर खान थालेछ ।
खोजिनीति गर्दा गुरुमापाले लगेर खान थालेको पत्ता लाग्यो । र, अब गुरुमापालाई टोलमा यसरी राख्न नहुने निर्णय गरेर केशचन्द्रले अन्त कतै राखिदिने निर्णय गरे । त्यही सुनले गुरुमापालाई राख्न भनी ३६० रोपनी जग्गा किनी जङ्गल सबै फाँडी मैदान बनाएर गुरुमापालाई राख्न लगे ।
गुरुमापालाई त्यहाँदेखि बाहिर नजानू, मासुभात खुवाउने प्रतिबद्धतासहित त्यहाँ बस्न बाध्य गराए । त्यही समयदेखि खानाको निमित्त वर्षको एक चोटि फाल्गुण शुक्ल पूर्णिमाको दिन गुरुमापालाई १२ पाथी चामलको भात, एउटा राँगो दिने प्रथा निकाले ।
त्यसैबेलादेखि नेवार समाजमा अहिलेसम्म पनि केटाकेटीलाई तर्साउँदा ‘गुरुमापाले लैजान्छ है’ भन्ने गरिन्छ । आजभोलि गुरुमापा राक्षसलाई घोडाको टापले थिचिएर टाउको उठाउन नपाओस् भनी हरेक वर्ष यस मैदानमा चैत्र औँसीका दिन (घोडेजात्राको दिन) घोडा दगुराएर जात्रा पनि गरिन्छ । यसरी गुरुमापा बस्ने गुरुमापा मैदान भनिएको र पछि यसको नाम सदर टुँडिखेलको नाम रहन गएको भनाइ रहेको पाइन्छ ।