काठमाडौँ, कात्तिक २७ गते । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गर्नुभएको छ। गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दङ्गालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिनु भएपछि प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गर्नुभएको हो।
भेटमा गृहमन्त्री अर्यालले आइजिपीमा बढुवा नियुक्ति हुनुभएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै देशमा शान्ति, सदभाव, अमनचयन र नजिकिँदै गरेको प्रतिनिधि सभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोवल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन गर्नुभयो।
सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समय सापेक्षरूपमा हुने आदेश र निर्देशको परिधिभित्र रही आफू र आफ्नो सङ्गठनले सधै जनताको जिउधनको सुरक्षा र शान्ति सुवास्था कायम गर्दै आफू दत्तचित्त भई लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले संयुक्तरूपमा गृह मन्त्रालयमा जेन जी आन्दोलनमा घाइते हुनुभएका दुईजना र जेन–जी प्रतिनिधिसँग भेट गर्नुभएको छ। भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन–जीका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गर्नुभएको थियो।