• १५ वैशाख २०८१, शनिबार

एसइई पास गर्ने आमाहरूकाे रहर

blog

एसइई परीक्षामा सहभागी हुने आमाहरू विद्यालयले राखेको बिदाइ कार्यक्रममा । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत १६ गते । बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसइईको तयारीमा जुट्नुभएको छ । भोलि देखि परीक्षा हो भन्छन् मनमा डर लागिरहेको छ उहाँले सुनाउनुभयो । 

‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट वञ्चित भइयौँ’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर खाएँ,त्यसैले उमेर नाघे पनि पढ्ने इच्छा जागेर आयौँ । राम्रो अङ्क ल्याएर एसइई पास गर्ने रहर छ ।’’ 

सात कक्षा पास गरेर आठ कक्षामा पढ्दै थिए बुवा आमाले विवाह गरिदिनुभयो गुरुङले भन्नुभयो, ‘विवाह पछि छोराछोरी जन्माउने,हुर्काउने र पढाउन तीर लागियो आफूले पढ्ने भन्ने हरायो ।’ छोराछोरी हुर्काउने र पढाउने काम सकेपछि बल्ल आफूलाई पढ्ने फुर्सद भयो गुरुङले सुनाउनुभयो । 

गुरुङले भन्नुभयो,‘बेनीको उज्यालो विद्यालयमा हामी जस्तालाई पढ्ने अवसर दिएकाले ८ कक्षामा भर्ना भएर पढ्न थाले अहिले एसइईको परीक्षा दिने भएकी छु ।’ बेनीमा अल्लो उद्योग व्यवसाय गर्दै आउनुभएकी गुरुङलाई शिक्षा नहुँदा धेरै ठाउँमा ठक्कर खानु परेको अनुभव सुनाउनुभयो  । 

नयाँ प्रविधिको विकास भएको छ उक्त प्रविधिलाई प्रयोग गर्न पनि शिक्षा जरुरी रहेछ उहाँले भन्नुभयो । एसइईमा राम्रो अङ्क आए त्यसपछि क्याम्पस पनि पढ्ने रहर भएको उहाँले बताउनुभयो ।  

यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलाकी ५७ वर्षीया राधा पुनलाई पनि एसइई  पास गर्ने रहर जागेर आएको छ । ‘छोराछोरीले एसइई पास गरिसके मैले पनि यसपालि एसइई पास गर्ने हो  ।’ उहाँले भन्नुभयो । 

रघुगंगा गाउँपालिका १ बेगखोला स्थायी ठेगाना भई हाल बेनीमा बसोबास गर्नुहुने ५० वर्षीया डिलकुमारी पुर्जाले पनि एसइईको तयारीमा हुनुहुन्छ । ‘‘सानो हुँदा भेडा बाख्रा चराउन जानुपर्दथ्यो,गोठमा दिनहरू बिते,विद्यालयमा टेक्ने अवसर पनि पाइएन,’’ पुर्जाले भन्नुभयो, ‘‘गोठमा बाजेले अलिअलि कखरा पढाउनुभयो । अनि विवाह भयो पढ्न पाइनँ ।’’

पुर्जाको  छोराछोरीले १२ कक्षा पास गरिसेका छन् । अहिले पढ्न थालेपछि छोराछोरी पनि खुसी भएका छन् । परिवारले पनि हौसला दिन्छन् उहाँले सुनाउनुभयो ।  

उहाँहरू सहित उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरू  यसपालिको एसइई परीक्षामा सहभागी हुनुहुन्छ । ३५ वर्षीया सङ्गीता छिनाल, ३९ वर्षीया धनकुमारी विक, ४० वर्षीया रामदेवी पुन, ३७ वर्षीया इन्द्र मति फगामी, २८ वर्षीया पूजा छन्त्याल र ५२ वर्षीया तुलकुमारी खत्री एसइई परीक्षामा सहभागी हुँदै हुनुहुन्छ । 

बुधबार विद्यालयले एसइई परीक्षामा सहभागी हुने आमाहरूलाई एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुईँ तलाको ६ कोठामा सञ्चालन गरिएको छ ।

बिचमै पढाई छाडेका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ ।  विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बिचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो ।  

 विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । सरकारले दरबन्दी कायम गरेर शिक्षक उपलब्ध गराइदिए आगामी दिनमा विद्यालय सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।